एउटा यस्तो आयोजना, जसले ६ महिनामा नै ७८% खर्च गर्न सफल भयो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्र मध्यमहाडी राजमार्ग अन्तर्गतको पुष्पलाल लोकमार्गको ११५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएको छ । सडक विभागका अनुसार अहिले उक्त आयोजना अन्तर्गत पुष्पलाल लोकमार्गको ११५ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो । 

विभागका अनुसार चालु आर्थिक वर्षमा उक्त योजनाका लागि ५ अर्ब ५० करोड ३० लाख रुपैयाँ विनियोजन भएको थियो । त्यस मध्ये ४ अर्ब ३१ करोड ४२ लाख रुपैयाँ खर्च भइसकेको छ । यो खर्च रकम छुट्टाइएको रकमको ७८ प्रतिशत हो । 

११५ किलोमिटर मध्य २५ किलोमिटर सडक कालोपत्रे भइसकेको सडक विभागका प्लानिङ डिभिजनका अर्जुन सुवालले जानकारी दिए ।

उनका अनुसार उक्त योजना अन्तर्गत २ वटा पुल निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । उक्त सडक खन्डमा विनियोजित रकमको ७८ प्रतिशत रकम खर्च भइसकेको छ । 

‘पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाको पूर्वी–पश्चिम खण्ड खारेज भएकाले त्यस अन्तर्गत ५ वटा योजना कार्यलय स्थापना गर्न समय लागेकाले काममा केही ढिला भएपनि अहिले कामले गति लिएको पुष्पलाल मध्यमहाडी राजमार्ग योजनाका निर्देशक दिपक केसीले जानकारी दिए । 

उनले योजना निर्माण कार्यको प्रभावकारी अनुमगन गर्नुका साथै निर्माण व्यवसायीले काम द्रुत गतिमा अगाडि बढाइरहेको दाबी गरे । 

‘हामी निर्माण कार्यका अवरोधहरुको पहिचान गरि छिटो हल गर्ने र प्रभावकारी अनुगमनसँगै कामलाई तिब्र गतिमा अगाडि बढाउने क्रममा छाैँ’, केसीले मेरोअटोसँग भने । 

नेपालको पूर्व–पश्चिम हुँदै मध्य पहाडका वस्तीहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित पूर्वमा पाँचथरको चियोभन्ज्याङ्गदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म यो मार्गले छुनेछ । जसको कुल लम्बाई १ हजार ७७६ किलोमिटर रहेको छ । 

आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको यो सडकखन्डको निर्माणकार्य  २०७४/७५ मा सम्पन्न हुने अनुमान गरिएको थियो । तर, पछि योजनाको निर्माणमा भएको ढिलाइका कारण कार्यतालिका परिवर्तन गरि काम अगाडि बढाइएको छ । 

अब सरकारले आर्थिक वर्ष २०७७/७८ सम्ममा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजनाको कुल लागत ७९ अर्व १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


Back_to_top