कहाँ गए यातायात मन्त्रालयका पुराना गाडी ?

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा थन्किएर रहेका पुराना सवारीसाधन कहाँ जान्छन् ? यही प्रश्न लिएर मन्त्रालय पुग्दा त्यहाँका प्रवक्ता शिवहरी सापकोटाले यस्ता सवारी साधन हेभिइक्यूपमेन्ट डिभिजन अन्तर्गत लिलामी हुने उत्तर दिन्छन् । 

त्यही विषयलाई लिएर हामी हेभी इक्यूपमेन्ट डिभिजन पुगेउँ । डिभिजनमा पुग्दा त्यहाँका इन्जीनियर कृष्णराम थापा मन्त्रालयबाट कुनै सवारी अहिलेसम्म डिभिजनमा लिलामीका लागि नआएको बताउँछन् । 

‘मन्त्रालयबाट अहिलेसम्म एउटा पनि गाडी लिलामी गर्नु भन्दै आएको छैन, मन्त्रालयको कहाँ जान्छ थाहा छैन, हाम्रोमा काठमाडौ, भक्तपुर, चरिकोट डिभिजन कार्यालयहरुबाटलिलामीका लागि आउँछ,’ थापाले मेरोअटोसँग भने ।

यस्तै विभागका स्टोर अफिसर शेखर घिमिरेले मन्त्रालयले केही समय अगाडी आफुसँग रहेका पुराना प्रयोग बिहिन वस्तुहरु तत्काल हटाउन निर्देशन दिएको जानकारी दिए ।

उनकाअनुसार उक्त निर्देशन पछि मन्त्रालयमा रहेका पुराना टेबुल कुर्सी पहिलो लटमा मन्त्रालयबाट डिभिजन कार्यालयमा ल्याइएको छ । उक्त सामानहरु विक्री भएपछि मन्त्रालयको आम्दानी आउने गरीलिलामीका लागि राखिएको उनले बताए ।

‘मन्त्रालयले हामीलाई केही दिनअघि पुराना सामानहरु हटाउन निर्देशन दिए पछि हामीले टेबुल कुर्सी जस्ता सामानहरु ल्याएका छौँ, त्यसबाहेक अरु लिलामीका लागि केही ल्याइएको छैन,’ घिमिरेले भने ।

उनले मन्त्रालयको निर्देशन अनुसार पहिलो चरणमा पुराना टेबुल कुर्सीको लिलामी हुने र दोस्रो चरणमा मन्त्रालयमा रहेका पुराना सवारी साधन लिलामीका लागि पठाइने छलफल भएको जानकारी दिए ।

सवारीसाधन लिलामीका लागि अर्को निर्देशन आउन बाँकी रहेको उनले बताए । निर्देशन आएपछि मात्र सवारीसाधन लिलामीका लागि ल्याइने गरी निर्देशन प्राप्त भएको उनले जानकारी दिए ।

उनले यसअघि कुनै पनि सवारी साधन लिलामीका लागि डिभिजन कार्यालयमा नआएको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भण्डै १ सय बढी पुराना सवारीसाधनहरु रहेका छन् जुन प्रयोग नभइ पार्किङमा राखिएका छन् । ती मध्ये केही सवारीसाधनहरु २० वर्ष नाघेका कारण सञ्चालनमा ल्याएका छैनन् ।


Back_to_top