काठमाडौं । कार उपभोक्ताले कार किन्नु पूर्व के कुरामा धेरै चासो राख्छन् ? धेरैको उत्तर आउँछ मूल्य, केहीले रिसेल भ्यालू बारे चासो राख्ने गरेका छन् । तर नगन्य कार खरिदकर्ताले मात्र सुरक्षाका विषयमा चासो राख्ने गरेको पाइन्छ । यो ट्रेन्ड विकसशिल मुलुकका कार किन्न चाहनेहरुमा पाइन्छ ।
तर, कार किन्नु अघि विकसित मुलुकका उपभोक्ताहरुको मुख्य चासो कारमा रहेको सुरक्षा विशेषतामा केन्द्रीत हुन्छ । कारमा प्रयोग भएका सुरक्षा विशेषताका कारण दुर्घटना हुँदा यात्रुको मृत्यू हुने सम्भावना कम हुन्छ ।
तर नेपालमा भने सडक दुर्घटनाका कारण वर्षेनी हजारौंको ज्यान जाने गरेको छ । यस्तो अवस्थाका बीच पनि नेपालमा सहरी सडक वा ग्रामिण सडकमा गुड्ने गाडीमा यस्तो सुरक्षा विशेषता हुनु पर्छ भन्ने मापदण्ड भने तोकिएको छैन ।
पछिल्लो समय आएका कारहरुमा सुरक्षा विशेषतालाई निक्कै जोड दिइएको पाइन्छ । नेपाली बजारमा विभिन्न कम्पनीका कार उपलब्ध रहेका छन् । त्यस मध्येको एक हो ‘टाटा नेक्सन’ । यो कार क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाउन सफल भएको छ ।
ग्लोबल एनक्यापले गरेको टेस्टमा टाटा नेक्सनले ५ स्टार पाएको हो ।
यसले टाटा मोटर्स आफ्नो सवारी सुरक्षित बनाउनु पर्छ भन्ने विषयमा निक्कै सजग रहेको पुष्टी भएको कम्पनीले जनाएको छ ।
टाटा नेक्सनमा ड्राइभर तथा फ्रन्ट प्यासेन्जर सिट दुबैमा सिटबेल्ट रिमाइन्डर, एयरव्याग, एबीएस, इबीडी, इन्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, हेडल्याम्प बीम एड्जस्टर, पावर डोर लक, सेन्ट्रल लकिङ, कर्नरिङ लाइट, रियर वाइपर जस्ता फिचर रहेका छन् ।
यी सबै कारणले टाटा नेक्सन भारतकै सबैभन्दा सुरक्षित एसयूभीका रुपमा स्थापित भएको छ । टाटाले आगामी दिनमा उत्पादन हुने प्यासेन्जर सवारीमा यस्तै सुरक्षा विशेषता समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।
टाटाको नेक्सन नेपाली बजारमा समेत उपलब्ध रहेको छ । टाटाको कम्प्याक्ट एसयूभी नेक्सन नेपाली उपभोक्ताको रोजाईमा परेको छ । टाटाले नेपाली बजारमा पनि सुरक्षा बारे प्रमोसनल क्याम्पेन गरिरहेको छ । नेपाली बजारमा बिक्री हुने ९७ प्रतिशत कार भारतमा उत्पादित हुन् ।

