बिहीबारदेखि नेपालमा मोर्बिडेलीका दुई मोटरसाइकल बिक्री सुरू हुँदै

काठमाडौं । बिहीबार (चैत १९ गते)देखि नेपाली बजारमा इटालियनी ब्राण्ड मोर्बिडेलीको मोटरसाइकल बिक्री सुरू हुने भएको छ ।

नेपालका लागि मोर्बिडेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुप अन्तर्गतको वैद्यज् इनर्जीले मोर्बिडेलीका दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले मोर्बिडेली टी ३५२ एक्स र टी १००२ भीएक्स एड्भेन्चर मोटरसाइल बिक्री सुरू गर्ने भएको हो । नेपालमा मोर्बिडेली ब्राण्ड पहिलोपटक बिक्री सुरू हुन लागेको हो ।

मोर्बिडेलीका मोटरसाइकल नेपालमा पहिलोपटक गत साउनमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पो २०२५ मा प्रदर्शनी गरिएको थियो । सो बेला कम्पनीले मोर्बिडेली टी ३५२ एक्स र टी २५२ एक्स दुई मोडल देखाएको थियो ।

कम्पनीले अहिले टी ३५२ र नयाँ मोडल टी १००२ भीएक्स बिक्री थाल्ने भएको हो । टी २५२ भने निकट भष्यिमा ल्याउने कम्पनी स्रोतले जानकारी दिएको छ ।

मोर्बिडेलीको पहिलो शोरुम काठमाडौंको नक्सालस्थित बेनेली मोटरसाइकल ब्राण्डकै ठाउँमा रहने छ ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्माण भएका यी दुई मोटरसाइकल नेपालको भू–भाग र सडक अवस्थालाई भर पर्ने डिजाइनमा छन् । यी दुवै अफरोड ट्रेल डिजाइनका मोटरसाइकल भएकाले नेपालको कठिन भू–भागमा भरपर्दो र सन्तुलित राइड अनुभव प्रदान गर्छ ।

मोर्बिडेली टी ३५२ एक्समा ३४९.२ सीसीको ट्विन-सिलिन्डर, ८ भल्भ, लिक्विड कुल्ड, इएफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ४१ हर्सपावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच दिइएको छ ।

निकै उत्कृष्ट ह्याण्डलिङ रहेको यो मोडलमा स्वीचेवल डुअल च्यानल एबीएस, अफरोड मोड सहित तीन राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल, पुरा एलईडी लाइट सेटअप, ७ इन्चको टिएफटि डिस्प्ले, कनेक्ट सिस्टम, नेभिगेसन, एसओएस बटन, पिरेली स्कॉर्पियन अफरोड टायर, स्पोक ह्वील, लंग ट्राभल सस्पेन्सन सेटअप लगायतका फिचरहरु र १८ लिटरको इन्धन ट्याङ्क पाउन सकिन्छ ।

त्यस्तै, मोर्बिडेली टी १००२ भीएक्स प्रिमियम एड्भेन्चर मोटरसाइकल हो । यो मोटरसाइकलमा ९९७ सीसी भी ट्वीन ८ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले ८८.५ हर्षपावर र ८९ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीडको गियरबक्सका साथै स्लिपर क्लच उपलब्ध छ ।

यो मोटरसाइकलको फ्रन्टमा केवाइबीको ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फोर्क र रियरमा केवाइबी मल्टिलिंक मोनोशक सस्पेनस पाउन सकिन्छ ।
मोर्बिडेली टी १००२ भीएक्सको फ्रन्ट ह्वीलमा ३२० एमएम ट्वीन डिस्क र रियरमा २६० एमएम सिंगल डिस्कसहित बशको एबीएस सिस्टम उपलब्ध छ ।

यसको अगाडि १९ र पछाडि १७ इन्चको ट्युबलेस स्पोक ह्वील दिइएको छ । यो एड्भेन्चर टूरर मोटरसाइकलमा २० लिटरको इन्धन ट्याङ्क छ । यसको सिट हाइट ८२० एमएम मात्र छ ।

यो मोटरसाइकलमा ७ इन्च टीएफटी स्क्रीनका साथै, ब्लुटूथ कनेक्टिभिटी उपलब्ध छ । यसमा चार राइडिङ मोड रेन, स्ट्याण्डर्ड, स्पोर्टस् र अफरोड पाउन सकिन्छ । यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्रुज कन्ट्रोज जस्ता फिचर उपलब्ध छन् । यसमा हिटेड ग्रिप, हिटेड सिट, अल एलईडी सेटअप र एडजष्टेबल विन्ड स्क्रीन उपलब्ध छ ।

मोर्बिडेली इटालीको विश्व चर्चित ब्राण्ड हो । यसका मोटरसाइकल विशेष डिजाइन, शक्तिशाली इन्जिन र ऐतिहासिक रेसिङ विरासतका लागि प्रख्यात मानिन्छ ।

 


Back_to_top