काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् ।
काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले धमाधम काठमाडौंबाट गृहजिल्ला गएका हुन् ।
पछिल्लो एक साता यता काठमाडौंबाट बाहिरिने सवारी साधनको संख्या उल्लेख्य रहेको छ । उपत्यका बाहिर चल्ने अधिकांश सार्वजनिक यातायात यात्रुले भरिएका छन् ।
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले हालसम्म करिब ७ लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए।
‘निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बढ्दो छ । यो बुधबारसम्म जारी रहने छ । सबै सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ,’ उनले भने ।
यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ । शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएकोे छ ।
भोलि मध्य रातिदेखि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी संचालनमा रोक लगाइएको छ ।

