काठमाडौं । साना ईभीको बजारमा उच्च गिरावट देखिएको छ । मूल्यका हिसाबले १६ देखि २५ लाख रुपैयाँसम्म पर्ने इन्ट्री लेभल ह्याचब्याक कारको आयात निरासाजनक देखिएको हो ।
सरकारले नै नेपालको लागि उपयोगी हुन्छ भन्ने मान्यता राखेर कम कर लगाएको मिनी र साना ह्याचब्याक कारहरू बिक्रीको हिसाबले निकै कमजोर देखिएको हो । यो सेग्मेन्टमा एमजी, केई, हेनरी, सेरेस, हाउजी, किवे, ईएनयू लगायतका ब्राण्डले आयात गरेको देखिन्छ ।
चालु आर्थिक वर्षको बजेटले विद्युतीय कारमा कर वृद्धि हुन्छ भन्ने हौवा फैलिएसँगै धेरै व्यवसायीले बजार मागभन्दा केही बढी युनिट कार मगाएका थिए । तर, अहिले पनि धेरैजसो ब्राण्डले ती कार बिक्री गर्न सकेका छैनन् ।
जेठ १५ गते बजेट सार्वजनिक हुनु अगाडिको ५ महिनामा सबै ब्राण्डहरूले मिलाएर २९५ युनिट साना ह्याचब्याक कार ल्याएका थिए । त्यसपछि सोचेजस्तो व्यापार नहुँदा पछिल्लो साढे आठ महिनामा केबल ८२ युनिट साना कार आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।
कुन ब्राण्डले कति ल्याए ?
एमजीले एक वर्षको अवधिमा ६३ युनिट कोमेट ईभी नेपाल ल्यायो । दुई ढोका भएको एमजी कोमेट बजेटपछि १८ युनिट आयात भयो । बजेट अगाडि ४५ युनिट आयात भएको थियो ।
विलिङले एयर ईभी बजेट अगाडि ४ युनिट आयात गरेको थियो । बजेटपछि केबल १ युनिट ल्याएको देखिन्छ । सेरेसको सानो ह्याचब्याक कार बजेट अगाडि २० युनिट आयात भएको थियो । त्यसपछि एक युनिट पनि आएको छैन ।
केईले बिक्री गर्ने इक्युट ०२ र इक्युट ०४ मिलाएर बजेट अगाडि १३१ युनिट आयात भएको थियो । बजेटपछि ३० युनिट आयात गरेको देखिन्छ । कम्पनीले यस अवधिमा १६१ युनिट आयात भएको छ ।
हेनरी भोल्टस् बजेट अगाडि ३७ युनिट आयात भएकोमा बजेटपछि १० युनिट आयात भएको छ । ब्रम्बी ईभी पनि बजेट अगाडि ३९ युनिट आयात भएकोमा त्यसपछि आएकै छैन ।
लिङबक्स मोडल बजेटपछि नेपाल आएको हो । कम्पनीले पछिल्लो साढे ८ महिनामा २१ युनिट लिङबक्स नेपाल ल्याएको छ । यसका अलावा अन्य ब्राण्डले २० वटा साना ईभी ल्याए पनि बजेटपछि केबल २ युनिट आयात भएको देखिन्छ ।

