काठमाडौं । केटीएमले भारतमा ३५० सीसी क्षमतामा नयाँ मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले आफ्नो ड्युक, एड्भेन्चर र आरसी तीनै सेग्मेन्टमा आधारित नयाँ ३५० सीसी मोडलहरू उत्पादन गर्ने भएको हो ।
भारतमा केटीएम मोटरसाइकलको निर्माण तथा बिक्रीको काम बजाज अटोले गर्दै आइरहेको छ । कम्पनीले ३५० सीसी सेग्मेन्टमा मोटरसाइकल बनाउने जानकारी भारतीय मिडिया रिपोर्टमा आएको हो ।
कम्पनीले भने आधिकारिक रूपमा अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन । तर, मिडिया रिपोर्ट अनुसार बजाजले पछिल्लो समयमा अपनाइरहेको रणनीतिमा केटीएम ब्राण्ड पनि समावेस हुने बताइएको छ ।
बजाजले भारतमा केटीएमका अलावा ट्रायम्फ ब्राण्ड पनि बिक्री गर्दै आइरहेको छ । पछिल्लो समय कम्पनीले केटीएम बाहेक बजाज र ट्रायम्फको ३५० सीसीको मोडलहरू उत्पादन गर्ने घोषणा आधिकारिक रूपमै गरिसकेको छ । यही कुरालाई मध्यनजर गर्दै केटीएमको पनि ३५० सीसीमा मोटरसाइकल बजारमा आउने रिपोर्टमा उल्लेख छ ।
भारतमा ३५० सीसी भन्दा माथिका मोटरसाइकललाई प्रिमियम सेग्मेन्टमा राखि जीएसटी (कर) को दायरा बढाएपछि कम्पनीले ३५० सीसीमा नयाँ मोडल ल्याउने भएको हो । कम्पनीले यही रणनीति बजाजका ४०० सीसीको डोमिनार, एनएस र ट्रायम्फको मोटरसाइकलमा पनि अपनाएको थियो । सोही रणनीति अब कम्पनीले केटीएम ब्राण्डमा पनि लगाउने भएको हो ।
भारतमा बढेको जीएसटीले ३५० सीसीभन्दा माथि इन्जिन क्षमता भएका मोटरसाइकलहरूको मूल्य बढेको छ । मूल्य बढेपछि सबैको पहुँचमा पर्न नसक्ने भएकाले कम्पनीले अफोर्डेबल मूल्य बनाउनका लागि ३५० सीसीमा नयाँ मोडलहरू बजारमा ल्याउन तयारी थालेको हो ।
यसका अलावा कम्पनीले आफ्नो तीनै ब्राण्डमा उपलब्ध ३५० सीसीभन्दा माथिका सबै मोडलहरूको बिक्री वितरण पनि यथावत नै राख्ने बताएको छ ।

