काठमाडौं । नेपालमा १५० किलोमिटरदेखि ५०० किलोमिटर हाराहारी रेन्ज दिने इलेक्ट्रीक कारहरु उपलब्ध छन् । रेन्जका हिसावले उत्कृष्ट मानिएका कार मूल्यका हिसावले पनि ५९ लाखदेखि नै खरिद गर्न सकिन्छ ।
रेन्जको हिसावले बीवाइडी इ सिक्स सबैभन्दा धेरै रेन्ज दिने मोडल हो । एमपीभी डिजाइनमा तयार भएको इलेक्ट्रीक साधनमा ठूलो साइजको ब्याट्री र गाडी अनुसार निकै सानो लाग्ने मोटर दिइएको छ । बीवाइडीको ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री यसमा पाउन सकिन्छ । यसको मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।

यसलाई डब्लूएटीपीले गरेको परीक्षण अनुसार ५२२ किलोमिटर रेन्ज दिने कार प्रमाणित गरेको छ । नेपालको सडक कन्डिसन अनुसार यसले सिंगल चार्जमा ४८० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्छ । यदि एसी, हिटर लगायतका उपकरण बन्द गरेर चलाउने हो भने ५०० किलोमिटरसम्म रेन्ज निकाल्न सकिन्छ ।
एमजी जेड ईभीको लङ रेन्ज मोडल अर्को धेरै रेन्ज दिने विद्युतीय एसयूभी हो । डब्लूएलटीपीका अनुसार यसले माइल्ड वेदरमा सहरी क्षेत्रमा ४४० किलोमिटर रेन्ज प्रदान गर्छ ।

एमजीले जेडएस ईभीको लङ रेन्ज मोडलमा ७२.६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । डब्लूएलटीपीले गरेको परीक्षण गरेकोभन्दा केही किलोमिटर कम रेन्ज नेपाली बाटोमा पाउन सकिन्छ ।
लङ रेन्ज जेडएस ईभीले नेपालको सडकमा पनि ४०० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्छ । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

त्यसैगरी अर्को सर्वाधिक रेन्ज दिने इलेक्ट्रीक मोडल हुन्डाई आयोनीक–५ क्रसओभर मोडल हो । यो फ्यूचरस्टीक डिजाइन भएको कारमा ५९ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर माथि रेन्ज दिन्छ । मेरोअटोले गरेको परिक्षणमा पनि यसले ४१२ किलोमिटर रेन्ज प्रदान गरेको थियो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको हुन्डाई आयोनीक–५ को मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
बीवाइडी एटो–३ पनि धेरै रेन्ज दिने अर्को एसयूभी हो । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्टले उत्पादन गरेको एटो–३ मा ६० किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर छ । डब्लूएलटीपीले ४२० किलोमिटर रेन्ज प्रमाणित गरेको छ । यसले हाम्रा सडकमा सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्छ ।

साइमेक्स इंकले यसको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ कायम गरेर बिक्री गर्दै आएको छ । बीवाइडीको ब्लेड टेक्नोलोजीमा आधारित ब्याट्री रहेको यो कार अहिले बजारमा निकै चर्चा कमाइरहेको मोडल हो ।
अन्त्यमा, विद्युतीय कारको रेन्ज सडक अनुसार फरक पर्छ । अहिले बजारमा उपलब्ध सबै कार ठाडो उकालोमा मात्रै चलाउने हो भने १५० किलोमिटर रेन्ज पनि नदिन सक्छ । तर, उकालो र ओरालो मिश्रित सडकमा भने राम्रो रेन्ज पाउन सकिन्छ । त्यसमा पनि चालकको चलाउने तरिकाले ईभीको रेन्जमा ठूलो फरक पर्छ ।

