गुलजार बन्यो दुईपाँग्रे बजार, आयात २५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा दुईपाँग्रे सवारी साधन बजार गुलजार बन्दै गएको छ । आर्थिक गतिविधिमा क्रमशः सुधार आउँदा मोटरसाइकल/स्कुटरको व्यापारमा चमक आएको हो ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आवको ६ महिना (साउन/पुस)को तथ्यांक अनुसार दुईपाँग्रे सवारी आयात २५.२० प्रतिशतले बढेको हो ।

विभागका अनुसार चालु आवको ६ महिनामा १ लाख ३५ हजार ७४७ युनिट मोटरसाइकल र स्कुटर आयात भएको हो । यो संख्या अनएसेम्बल र तयारी दुवैको तथ्यांक हो ।

चालु वर्षमा गत वर्षको सोही अवधिको तुलनामा दुईपाँग्रे सवारी आयात २७ हजार ३२८ युनिट धेरै हो । गत वर्ष ६ महिनामा १ लाख ८ हजार ४१९ मोटरसाइकल र स्कुटर आयात भएको थियो ।

विभागका अनुसार चालु आवमा आयात भएको दुईपाँग्रे सवारीमध्ये ७९.५२ प्रतिशत अनएसेम्बल रहेका छन् । ६ महिनामा १ लाख ७ हजार ९४३ युनिट अनएसेम्बल दुईपाँग्रे सवारी आयात भएको हो ।

हाल नेपालमा आधार दर्जन बढी ब्राण्डका दुइपाँग्रे सवारी उत्पादन हुन्छ । रोयल इनफिल्ड, बजाज, टीभीएस, यामाहा, हिरो, होण्डा, सीएफमोटो लगायत ब्राण्डका मोटरसाइकलरस्कुटर नेपालमै एसेम्बल हुन्छन् ।

६ महिनामा २७ हजार ८०४ युनिट तयारी अवस्थाका मोटरसाइकल र स्कुटर आयात भएको विभागको तथ्यांक छ ।

चालु आवमा आयात भएका दुईपाँग्रे सवारी मध्ये विद्युतीयको संख्या १० हजार ४३४ युनिट रहेको छ ।


Back_to_top