लकडाउनमा मोटरसाइकल थन्काएर राख्दा यी ३ कुरा ध्यान दिनुस्

काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको कारण पाँच दिनदेखि नेपाल पुरै लकडाउनको अवस्थामा छ । सरकारले यो लकडाउनको अवधी अझै २ हप्ता बढाउने तयारी गरिरहेको सरकारका मन्त्रीहरुले बताउन थालिसकेका छन् ।

यसरी लामोसमय देश लकडाउनमा बस्नु पर्ने भएकाले तपाई प्रयोग गर्ने मोटरसाइकल सुरक्षीत कसरी राख्ने भन्ने विषयमा ध्यान दिनु जरुरी हुन्छ । भोलि लकडाउन सकिएपछि तपाईको यात्रा र काम गर्न जाने मुख्य साधनको रुपमा रहेको मोटरसाइकलको सही हेरचाह गर्नुभयो भने पछि काममा जानपनि सजिलो हुन्छ ।

इन्जिन, एक्जस्ट र व्याट्रीमा विशेष ध्यान दिनेः मोटरसाइकल थन्काएरै राखेको छ भनेपनि यसको इन्जिन, एक्जस्ट र व्याट्रीको अवस्थामा ध्यान दिने गर्नुहोस् । मोटरसाइकलको एक्जस्ट सफा गरेर राख्नु होला अन्यथा पछि यसमा खियालाग्ने जस्ता समस्या हुन सक्छ । साथै यसमा रहेको व्याट्रीपनि पुरै डाउन नहोस् भन्न बेलाबेला स्टार्ट गरिरहनु होला ।

मोटरसाइकललाई राम्रोसँग सफा गर्नेः नेपाली सडक उसैपनि राम्रो छैन । यहाँका बाटामा धुलो र हिलो सामन्य जस्तै हो । करिब २१ दिन भनेको निकै लामो समय हो त्यसैले मोटरसाइकललाई राम्रोसँग धोएर राख्नु पर्छ । जसले मोटरसाइकलको कलर बचाउनुको साथै मोटरसाइकलको चमकलाई बचाई राख्ने छ । सफागर्दा मोटरसाइकलको चेन पनि सफा गर्नुपर्छ । सफागरिसकेपछि राम्रोसँग सुकेपछि मात्रै कभरले छोप्नु पर्छ ।

हरेक दिन इन्जिन स्टार्ट गर्नेः यसरी घरमा नचलाई राखिएको मोटरसाइकललाई सकेसम्म हरेक दिन ५ मिनेट जति स्टार्ट गर्नु पर्छ । यसो हुदाँ इन्जिनमा इन्जिन आयल राम्रोसँग सञ्चालित हुन्छ । कुनै पनि बन्द भएको इन्जिनमा इन्जिन आयल इन्जिनमा नभै इन्जिन भन्दा तल जम्मा भएर बसेको हुन्छ । यसका साथै हरेक दिन स्टार्ट गरेर राख्दा मोटरसाइकलमा पिकअपमा समेत समस्या आउँदैन ।


Back_to_top