लकडाउन बस्दा यसरी छनोट गर्नुस् उत्कृष्ट मोटरसाइकल

काठमाडौं । यदि तपाई नयाँ वर्षको अवशर पारेर मोटरसाइकल किन्ने सोच बनाइरहनु भएको थियो भने यो आफ्नो आवस्यकता अनुसारको उपयुक्त मोटरसाइकल छनोट गर्ने अवशर हो ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको कारण त्रास फैलिएको छ । करिब २१ भन्दा बढी देशले लकडाउन गरेको अवस्थामा घरभित्र मानिस बसिरहेका छन् । नेपालमा पनि लक डाउन सुरु भएको ५ दिन भएको छ । सुरुवातमा ७ दिन लकडाउन गर्ने भनिएपनि यसलाई बढाएर लाने तयारी भइरहेको छ ।

यस्तोमा यदि कोरोना संकट टरेपछि तपाईले मोटरसाइकल किन्ने सोच बनाउनु भएको छ भने यो तपाईको लागि छनोट गर्ने उपयुक्त असवर हो । यसरी घरमा बसेर अहिले इन्टरनेटको माध्यमबाट उत्कृष्ट मोटरसाइकल छनोट गर्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ।

बजेटः तपाई कति रकमसम्म खर्च गरेर मोटरसाइकल किन्ने सोच बनाउनु भएको छ त्यसमा प्रस्ट हुनुहोस् । अहिले नेपाली बजारमा १ लाख ५० हजारदेखि एक करोड ४० लाखसम्मका मोटरसाइकल उपलब्ध रहेका छन् । यस्तोमा तपाईले किन्ने मोटरसाइकल कति रकमको हो त्यही अनुसार छनोट गर्नुहोस् ।

पावरः मोटरसाइकलको मूल्य धेरै हदसम्म पावरले निर्धारण गर्छ । विशेषत नेपालको पहाडी बाटो र त्यसमा पनि कच्ची बाटो धेरै भएको हुँदा आफ्नो आवस्यकता अनुसारको पावर भएको मोटरसाइकल छान्नुहोस् ।

सुरक्षा फिचरः मोटरसाइकल सुरक्षाको हिसावले खासै राम्रो मानिदैन । तर, पछिल्ला दिनमा कम्पनीहरुले मोटरसाइकललाई सुरक्षीत बनाउन निकै प्रयास गरिरहेका छन् ।

त्यसैले अहिले मोटरसाइकल किन्दा डिस्क ब्रेक, एबीएस जस्ता सुरक्षा फिचर भएको मोटरसाइकल छनोट गर्नुहोस् । जसले तपाईलाई भोलि सुरक्षीत यात्रा गर्न सहयोग गरोस् ।

माइलेजः नेपालमा मोटरसाइकल छनोट गर्दा माइलेजलाई ध्यान दिन जरुरी हुन्छ । नेपालले पेट्रोलियम पदार्थ पूर्णरुपमा विदेशबाट किनेर ल्याउने हुँदा धेरै माइलेज दिने मोटरसाइकल छनोट गर्नु उपयुक्त मानिन्छ ।

सर्भिस र रिसेल मूल्य: मोटरसाइकल किनेपछि सबैभन्दा महत्वपूर्ण विषय सर्भिस हो । यदि कुनै कम्पनीको सर्भिस कमजोर छ तर मोटरसाइकल राम्रो छ भनेपनि त्यस्ता मोटरसाइकल किन्ने निर्णय नगर्दा राम्रो हुन्छ । पछि तपाईले भनेको समयमा सर्भिस नपाएर हैरानीमा पर्न सक्नु हुन्छ । त्यसैले आफुले मोटरसाइकल छनोट गर्दा उक्त कम्पनीले दिने सर्भिस कस्तो छ भन्ने कुरामा ध्यान दिनु पर्छ ।

मोटरसाइकल किन्नु अघि भविष्यमा बिक्री गर्दा रिसेल मूल्य कति आउँछ भन्ने विषय बुझनु भयो भने त्यसले पछि मोटरसाइकल बिक्री गर्दापनि सजिलो हुन्छ । अनि बजारमा चलेका ब्राण्ड र उत्कृष्ट सर्भिस भएका कम्पनीको रिसेल मूल्यपनि राम्रो हुन्छ ।


Back_to_top