मोटरसाइकलको सडक दस्तुरमा १ लाखसम्म घट्दा इलेक्ट्रीकमा २ हजार कम

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को हिजो अध्यादेश मार्फत सार्वजनिक भएको बजेटले दुई पाङ्ग्रे सवारी साधनमा लाग्दै आएको सडक निर्माण दस्तुरमा केही परिवर्तन गरेको छ । बजेटले ४०१ सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको २ लाख सडक निर्माण दस्तुरलाई घटाएर १ लाख रुपैयाँ कायम गरेको हो ।

त्यसैगरि सरकारले बजेट मार्फत इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधनमा लाग्दै आएको सडक निर्माण दस्तुर पनि घटाएको छ । चालु आर्थिक वर्षको बजेटले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा १२ हजार सडक निर्माण दस्तुर लगाउँदै आएकोमा दुई हजार घटाएर १० हजार रुपैयाँ कायम गरिएको छ ।

सरकारले भन्सार विन्दुमा नै लिने सडक निर्माण दस्तुरमा १ लाख रुपैयाँ कम भएसँगै विग बाइकको रुपमा विक्री हुँदै आएका मोटरसाइकलको मूल्य घट्ने भएको छ । अहिले बजारमा होन्डा, यामाहा, बेनेली, सिएफमोटो, रोयल इन्फिल्ड, बीएमडब्ल्यू, डुकाटी जस्ता ब्राण्डले विग बाइक विक्री वितरण गर्दै आएका छन् ।

४०० सीसीभन्दा कमका मोटरसाइकलमा लाग्ने सडक निर्माण दस्तुरमा भने कुनै परिवर्तन गरिएको छैन ।


Back_to_top