भारतमा मोटरसाइकल बिक्री बढेन, यस्तो छ ४ कम्पनीको बिक्री

काठमाडौं । लकडाउन खुकुलो भएपछि पनि भारतीय बजारमा मोटरसाइकलको बिक्रीमा खासै सुधार आउन सकेको छैन । नेपाली बजारमा असार १ गतेबाट बजार खुलेसँगै बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी जस्ता कम्पनीको बिक्री केही ट्रायाकमा आएको भएपनि भारतमा अझै सुधार आउन सकेको छैन ।

भारतीय बजारमा सर्वाधिक मोटरसाइकल बिक्री गर्ने हिरो, बजाज, टीभीएस र रोयल इन्फिल्डको बिक्री अझै करिब ३६ प्रतिशतभन्दा बढीले नकारात्मक रहेको तथ्यांक बाहिर आएको छ ।

जुन महिनामा हिरोले भारतमा ४ लाख ५० हजार ७४४ यूनिट मोटरसाइकल बिक्री गरेको छ । यो अघिल्लो वर्षको जुनको तुलनामा २६.८ प्रतिशतले कम हो ।

कम्पनीले मे महिनाको तुलनामा भने जुनमा बिक्री बढाउन सफल भएको छ । मे महिनामा १ लाख १२ हजार ८६२ यूनिट मात्रै बिक्री भएको थियो ।

टीभीएस मोटर्सको बिक्रीमा ३६ प्रतिशतले गिरावट आएको छ । कम्पनीले सन् २०२० जुनमा १ लाख ४४ हजार ८१७ यूनिट बिक्री गरेको छ । तर, कम्पनीले अघिल्लो वर्षको जुनमा २ लाख २६ हजार २७९ यूनिट मोटरसाइकल बिक्री गरेको थियो ।

बजाज अटोको बिक्रीमा २६ प्रतिशतले गिरावट आएको छ । बजाजले सन् २०२० जुनमा १ लाख ४६ हजार ६९५ यूनिट मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १ लाख ९९ हजार ३४० यूनिट मोटरसाइकल बिक्री गरेको थियो ।

रोयल इन्फिल्डको बिक्रीमा पनि ३४ प्रतिशतले गिरावट आएको छ । कम्पनीले गत महिना ३६ हजार ५१० यूनिट मोटरसाइकल बिक्री गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५५ हजार ८२ यूनिट मोटरसाइकल बिक्री गरेको थियो ।


Back_to_top