मोटरसाइकल शोरुममा बढे ग्राहक, कुन-कुन मोडलमा आकर्षण (फोटो-फिचर)

फाइल तस्विर

काठमाडौं । लकडाउन पश्चात् दुइपाङ्ग्रे सवारी कम्पनीहरुले विभिन्न स्कीम ल्याएर मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेका छन् । नयाँ अफरसँगै मोटरसाइकल किनने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

सामाजिक दुरी कायम गर्न भन्दै मोटरसाइकलमा एक जनाले मात्रै यात्रा गर्न पाउने हुँदा पनि बाध्यताले मोटरसाइकल किन्नु पर्ने अवस्था आइलागेको ग्राहकहरुले बताउने गरेका छन् ।

‘एक त जोर बिजोर छ अर्को एक जनाभन्दा चढ्न पाइदैन । परिवारमा दुबै जनालाई काममा जानु पर्ने भयो’, होन्डाको स्कुटर किन्न जमलमा भेट्टिएका मैतिदेबीका गोपाल खड्काले भने ।

अहिले काठमाडौंका प्रायः शोरुमहरुमा ग्राहकको बाक्लो उपस्थिति रहने गरेको छ । विभिन्न कम्पनीहरुले शुन्य प्रतिशत व्याजदेखि १ रुपैयाँ तिरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएका छन् । एकै पटक धेरै रकम तिर्न नसक्ने तर मासिक रुपमा थोरै रकम किस्ता तिरे पुग्ने भएकाले ग्राहकले पनि यसलाई अवशरको रुपमा लिएर किनिरहेका भेटिन्छन् ।

शून्य प्रतिशत व्याजदेखि शून्य प्रतिशत डाउन पेमेन्ट गर्ने विकल्पसहितका स्कीम ल्याएको यामाहा कम्पनीको एफजेडएस भी ३ ग्राहकले धेरै रुचाएका छन् । कम्पनीले एफजेडएस भी ३ मा ग्राहकको आर्कषण बढ्दो रहेको जानकारी दियो ।

चलाउन कम्र्फट उत्कृष्ट डिजाइन र माइलेजका कारण यो ग्राहकको रोजाइमा परेको हो । यस्तै ग्राहकले शून्य प्रतिशत व्याजमा यो मोटरसाइकल खरिद गर्ने गरेको समेत कम्पनीले जनाएको छ ।

यस्तै १ रुपैयाँ डाउन पेमेन्ट, एक रुपैयाँ मासिक किस्ता, एक प्रतिशत व्याजदर जस्ता स्कीम ल्याएको होन्डाको साइन मोटरासाइकल तथा डियो स्कुटरमा आर्कषण बढ्दो रहेको छ । कम्पनीले ल्याएको १ प्रतिशत व्याजमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक धेरै रहेको छन् ।

यस्तै बजाजको पल्सर २२० र १५० धेरै बिक्री भइरहेको कम्पनीले जनाएको छ । बजाजले १२ हजार नगद छुटदेखि शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको छ ।

टीभीएसले शून्य प्रतिशत व्याजदर, शून्य प्रतिशत डाउनपेमेन्टसम्मका स्कीम ल्याएको छ । लकडाउन पश्चात् टीभीएसको एनटर्क स्कुटर किन्ने ग्राहक बढ्दो रहेको कम्पनीले जनाएको छ । टीभीएसको स्कीम अन्तर्गत शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहक धेरै रहेका छन् ।


Back_to_top