नाडाको नयाँ अध्यक्षको लागि सहमति हुँदै, आजै निर्णायक छलफल

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको आसन्न निर्वाचनको लागि दौडधूप चलिरहेकै समयमा सर्वसम्मत नेतृत्व चयनको लागि निर्णयक पहल भइरहेको छ । त्यसका लागि अहिले नाडा अध्यक्ष ध्रुव थापाले सहमतिको प्रयास गरिरहेका हुन् ।

आगामी पुस २० र २१ गते हुने नाडा निर्वाचनमा पूर्व उपाध्यक्ष आकाश गोल्छा र करण चौधरी प्यानल नै बनाएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेकै समयमा सहमतिको प्रयास पनि थालिएको हाे।

दुवै अध्यक्षका आकांक्षीहरूले आपसमा छलफल गर्ने, समूहमा छलफल गर्ने र सहमति सँगसँगै निर्वाचनको पनि तयारी गरिरहेकै समयमा वर्तमान अध्यक्ष थापाले सहमतिको प्रयास थालेका हुन् ।

उनको मध्यस्थतामा हिजो भएको संयुक्त बैठकले अहिलेको आर्थिक मन्दीमा निर्वाचनमा गएर साथीहरूलाई दौडधूप गराउनुभन्दा सर्वसहमतिले नेतृत्व चयन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको अध्यक्ष थापाले बताए ।

‘हामीले सबै सदस्यहरूको भवना बुझेर नै सर्वसहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका हौं । अध्यक्षमा प्रत्यासी दुवै उमेदवार त्यसको लागि सहमत हुनु भएको छ । आज पूर्व अध्यक्षहरू सहितको बैठक राखेर निर्णयमा पुग्छौं,’ नाडा अध्यक्ष थापाले मेरोअटोसँग भने ।


Back_to_top