नाडा टोलीले भेट्यो गर्भनर, मौद्रिक नीतिका लागि दियो यस्ता ५ सुझाव

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।

शुक्रबार नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको टोलीले गभर्नर पौडेललाई भेटी मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा छलफल गरेको हो ।

वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारी साधनमा कर्जाको व्यवहारिक अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकता लगायत विषयमा छलफल भएको थियो ।

सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयन गर्नुपर्ने ५ पाँच बुँदे सुझावहरू प्रस्तुत गरे ।

नाडाले अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन गर्न, सवारी साधनमा लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन, ईभी तथा हाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याउन, वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमनमा कडाइ गर्न लगायत सुझाव दिएका थिए ।

गभर्नर डा. पौडेलले नाडाको सुझावहरूलाई गम्भीरताका साथ लिइने बताउँदै समस्या समाधानका लागि आवश्यक छलफल गरी समन्वय समेत गरिने आश्वासन दिए ।


Back_to_top