काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत निर्वाचित भएका छन् ।
नाडाले आगामी नेतृत्व चयनका लागि आज (मंसिर २९) ११ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । अध्यक्ष पदको लागि दुलाल विरुद्ध उम्मेदवारी दर्ता नभएसँगै उनी आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
अध्यक्षका प्रत्यासी उम्मेदवारका रुपमा चर्चामा रहेका नाडाका वर्तमान उपाध्यक्ष प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल निर्विरोध चयन भएका हुन् ।
अध्यक्षमा निर्विरोध चुनिएपछि दुलालले प्रतिक्रिया दिँदै समग्र अटोमोबाइल क्षेत्रको व्यवस्थापन र व्यावसायीक हकहितको लागि काम गर्ने बताए ।
‘देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको अटोमोबाइल बजारको व्यवस्थापन गर्न यस क्षेत्रलाई स्थापित गर्दै, अति आवश्यक वस्तु हो भन्ने प्रमाणित गर्न सरकारसँय समन्वय गर्दै व्यवसायीको हक हितको लागि काम गर्नेछु ।’ उनले मेरो अटोसँग भने ।
अध्यक्षका प्रत्यासीका रुपमा रहेका कपुरीले अग्रज व्यवसायीहरुको कुरा सहमत हुँदै उहाँहरुको सल्लाह, सुझावलाई स्वीकार गर्दै अध्यक्ष पदकाे लागि मनोनयन दर्ता नगरेको बताए ।
‘व्यवसायीक हकहितको लागि काम गर्ने संस्थामा राजनीति हावी हुन नदिनु नै मेरो उद्देश्य हो । मेरो कार्य समायवधि अझै बाँकी रहेकोलो आगामी कार्यकालमा अध्यक्ष बन्ने बाटोभने खुल्लै रहेको छ’ कपुरीले मेरोअटोसँग भने ।

