नाडाको विशेष साधरण सभा रोक्न आदेश, ७ दिन भित्र उपस्थित हुन निर्देशन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले भदौ २४ गते बोलाएको विशेष साधरण सभा रोक्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासनले भदौ १६ गते नाडालाई पत्र लेख्दै  तत्कालका लागि विशेष साधरण सभा रोक्न निर्देशन दिएको हो ।

नाडाले गैरकानुनी तरिकाले विशेष साधरणसभा बोलाएको भन्दै उजुरी समेत परेको जिल्ला प्रशासनले जनाएको छ ।

साथै, जिल्ला प्रशासनले विधान बमोजिम साधरण सभा नबोइलाई किन विशेष साधरण सभा बोलाएको, पटक पटक छलफल गर्दा पनि विवाद किन समाधान हुन नसकेका भन्दै नाडालाई स्पष्टीकरण समेत सोधेको छ ।

जिल्ला प्रशासनले विषेश साधरण सभा बोलाउन गरिएका निर्णय सहित ७ दिन भित्र कार्यालयमा उपस्थित हुन नाडालाई निर्देशन दिएको छ ।

‘विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो? जिल्ला प्रशासन कार्यालयमा पटक(पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो?,’ जिल्ला प्रशासनका प्रमुख प्रशासकीय अधिकृतले नाडालाई पठाएको पत्रमा भनिएको छ, ‘विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ (सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

नाडालाई महासंघ बनाउने एजेन्डासहित नाडाले भदौ २४ गते विशेष साधरण सभा बोलाएको थियो । गत भदौ ८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासंघ बनाउने निर्णय गरेको थियो ।

नाडाको विशेष साधरण बारे विवादको सुरूआत ८ गतेकै बैठकबाट भएको थियो । केही सदस्यले नाडाको विशेष साधरण बोलाउन नहुने भन्दै माइन्युट समेत च्यातेका थिए । साथै, हात हालाहालको अवस्था समेत सृजना भएको थियो ।

त्यसपछि नाडाले माइन्युट च्यात्ने सदस्यलाई ३ दिने स्पष्टीकरण समेत सोधेको थियो ।

नाडामा हालको कार्य समिति निर्वाचित भएको केही समयदेखि नै विवादको श्रृंखला सुरू भएको थियो । अध्यक्ष करण चौधरीले वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई साधरण सदस्यमा मात्रै सीमित गरिदिएपछि विवादले उग्र रुप लिएको थियो ।


Back_to_top