काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) सवारी साधनहरूको अधिकतम मूल्यसूची प्रकाशन बारे स्पष्ट नीति बनाउन माग गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दहालसँग भेटगरी हाल अस्पष्ट रहेका विभिन्न विषय स्पष्ट गर्न माग गरेको हो ।
अध्यक्ष चौधरीले विभागले चैत १४ गते प्रकाशन गरेको वस्तुमा लेबल राख्ने सम्बन्धी विषमा छलफल भएको जानकारी दिए । उनले उक्त सूचनामा अस्पष्टता रहेकाले स्पष्टताको लागि आग्रह गरे ।
अध्यक्ष चौधरीले सवारी साधनहरूको अधिकतम मूल्यसूची प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको, स्पेयर पाट्र्समा अधिकतम मूल्यसूची राख्ने तरिका क्यूआर कोडको माध्यमबाट मूल्य निर्धारण गर्ने कि अन्य कुनै तरिका अपनाउने भन्नेबारेमा प्रष्टता हुनु पर्ने बताए ।
त्यस्तै, उनले ब्ल्कमा आउने गाडीहरूमा अधिकतम मूल्यसूची लागू गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी स्पष्टता हुनु पर्ने, स्पेयर पाट्र्समा अधिकतम मूल्यसूची अनलाइन वा अफलाइन कस्तो ढाँचामा राख्ने, डिजिटल तथा गैरडिजिटल माध्यमबाट मूल्यसूचीलाई कसरी पारदर्शी बनाउने, स्पेयर पार्टसमा आउने नटवोल्टहरूमा अधिकतम मूल्यसूची के कसरी लगाउने भन्ने विषयहरूमा स्पष्टता हुनु पर्ने धारणा राखे ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले पनि यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताउँदै डिजिटल माध्यमबाट स्पेयर पाट्र्सको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी प्रयोग गर्न सकिने बताए । यसले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउने उनको भनाइ छ ।
विभागका महानिर्देशक दहालले भौतिक वस्तु वा कमोडिटीहरूको अधिकतम मूल्य सूची प्रकाशित गर्ने अवधारणा पुरानो भए पनि यस प्रक्रियालाई अहिलेको सन्दर्भमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै अधिकतम मूल्य सूचीलाई पारदर्शी बनाउन अधिकतम मूल्यसूची स्पष्ट देखिने गरी टाँस्नु पर्ने बताए ।
उनले डिजिटल र ननडिजिटल अधिकतम मूल्यसूचीलाई क्यूआर कोड मार्फत प्रभावकारी कार्यान्वयन गरेर अनलाइन माध्यमलाई समेट्नुपर्ने बताए । छलफलको अन्त्यमा महानिर्देशक दहालले यस विषयमा सबै सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए ।


