काठमाडौं । सन् २०२२ भित्र नागढुङ्गा सुरुङ मार्ग सम्पन्न हुने भएको छ । नागढुङ्गा सुरुङ मार्ग योजनाका निर्देशक श्याम खरेलका अनुसार सो सुरुङ मार्गको काम यही चालु आर्थिक वर्षबाट सुरु हुने र २०२२ सम्ममा सम्पन्न हुने छ ।
उनले नागढुङ्गा सुरुङ मार्गको कागजी काम सबै सकेर प्राविधिक पक्षको मूल्यांकनसमेत भइसकेको जानकारी दिए ।
‘नागढुङ्गा सुरुङ मार्गको काम यही चालु आर्थिक वर्षबाट सुरु हुन्छ, सुरुभएको मितिले ४२ महिना भित्र निर्माण पूरा हुनेछ’ खरेलले मेरोअटोसँग भने ।
६ विदेशी कम्पनीले देखाए इच्छा
नागढुङ्गा सुरुङमार्गको निर्माणका लागि ६ ठेकेदार कम्पनी इच्छुक देखिएका छन् । सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका अनुसार ५ वटा चिनियाँ कम्पनी र एक जापानी कम्पनी उक्त सुरुङमार्ग निर्माणका लागि इच्छा देखाएका छन् ।
महाशाखाले गत साउन २४ गते सुरुङमार्ग निर्माणका लागि आवस्यक कम्पनी छान्न ६० दिने बोलपत्र आह्वान गरेको थियो । माग गरिएको बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए ।
निर्देशक खरेलले भने– ‘अहिले ६ कम्पनीहरुमध्ये प्राविधिक रुपमा अब्बल रहेका कम्पनीलाई ठेक्का दिने छलफल भैरहेको छ, जुन कम्पनी अब्बल देखिन्छ, उसैले ठेक्का पाउँछ ।’
यी कम्पनीहरुमध्ये सबैभन्दा न्यूनतम मूल्य कबुल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउँने उनले बताए । जसका लागि महाशाखा अहिले छलफलमा केन्द्रित भएको उनको भनाई छ ।
प्रारम्भिक अनुमानित बजेट
नागढुङ्गा सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसका लागि जापानी सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङ मार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ ।
कम्पनीले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिएको हो । सोही ऋण रकमलाई सरकारले सुरुङमार्ग निर्माणमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । अपुग ६ अर्ब रुपैयाँ भने नेपाल सरकारले नै व्यहोर्ने यसअघि नै निर्णय भैसकेको छ ।
यस्तो हुनेछ सुरुङमार्ग
बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग भित्रको सडकको चौडाई साढे ९ मिटर हुनेछ । यो सुरुङमार्गमा साढे ३ मिटरका २ लेनको सडक हुने महाशाखाले जनाएको छ । सडकको बीच भाग साढे एक मिटरको हुनेछ ।
ठेकेदार कम्पनीले सुरुङमार्ग प्रवेशद्वारसम्म जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसार सुरुङमार्ग बनाउनेछ । कम्पनीले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
महाशाखाका अनुसार, सुरुङमार्ग प्रवेश गर्ने सडकमा तीनवटा पुल, दुई अन्डरपास र एक÷एक वटा ओभर पास तथा फ्लाई ओभर बनाउनुपर्नेछ । सुरुङमार्ग प्रवेश गर्ने बाटोका खोल्सामा ११ वटा कल्भर्टसमेत बनाउनुपर्ने छ ।

