आगामी चैतबाट निर्माण सुरुहुँदै नागढुङ्गा सुरुङमार्ग, यस्तो छ तयारी

काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको निर्माणका लागि ६ ठेकेदार कम्पनी इच्छुक देखिएका छन् । सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका अनुसार ५ वटा चिनियाँ कम्पनी र एक जापानी कम्पनी उक्त सुरुङमार्ग निर्माणका लागि इच्छा देखाएका छन् । 

महाशाखाले गत साउन २४ गते सुरुङमार्ग निर्माणका लागि आवस्यक कम्पनी छान्न ६० दिने बोलपत्र आह्वान गरेको थियो । माग गरिएको बोलपत्र  १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए । 

सुरुमा सुरुङमार्ग निर्माण गर्न कम्पनीहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर अहिले आएर जम्मा ६ ठेकेदार कम्पनी इच्छुक देखिएका छन्, नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले मेरोअटोसँग भने । 

जाइकाले सुरुङ मार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ । 

उनकाअनुसार, अहिले ६ कम्पनीहरुमध्ये प्राविधिक रुपमा अब्बल रहेका कम्पनीलाई ठेक्का दिने छलफल भैरहेको छ । जुन कम्पनी अब्बल देखिन्छ, उसैले ठेक्का पाउँछ । 

यी कम्पनीहरुमध्ये सबैभन्दा न्यूनतम मूल्य कबुल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउँछ । जसका लागि महाशाखा अहिले छलफलमा केन्द्रित भएको उनले बताए । 

ठेकेदार कम्पनी आगामी चैत महिनासम्ममा छनौट हुने भन्दै प्रमुख खरेलले त्यसलगतै सुरुङमार्ग निर्माणको काम सुरु गर्ने जानकारी दिए । उनले भने, आगामी चैतभित्रमा हामी काम सुरु गर्छौं । त्यसका लागि अहिले काम भैरहेको छ  । 

त्यस्तै, सुरुङमार्ग निर्माणको लागि आवस्यक कामहरु पनि भैरहेको उनले बताए । उनका अनुसार, सुरुङमार्गका लागि काठमाडौंमा जग्गा अधिग्रहणको काम थोरै मात्रै बाँकी रहेको छ भने, धादिङमा पनि जग्गा अधिग्रहण तथा मूल्यांकनको काम बाँकी रहेको छ । 

त्यस्तै उनले सुरुङमार्ग निर्माणका लागि ठाउँठाउँमा कार्यालय स्थापना गर्ने, बजेट व्यवस्थापन गर्ने तथा पदपूर्तिको काम अहिले भैरहेको जानकारी दिए ।  उनले भने, बाँकी बसेको काम पनि हामी छिट्टै नै सक्नेछौं । 

बजेट 

नागढुङ्गा सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसका लागि जापानी सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङ मार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ । 

कम्पनीले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । 

जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिएको हो । सोही ऋण रकमलाई सरकारले सुरुङमार्ग निर्माणमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । अपुग ६ अर्ब रुपैयाँ भने नेपाल सरकारले नै व्यहोर्ने यसअघि नै निर्णय भैसकेको छ । 

यस्तो हुनेछ सुरुङमार्ग 

बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग भित्रको सडकको चौडाई साढे नौ मिटर हुनेछ । यो सुरुङमार्गमा साढे तीन मिटरका दुई लेनको सडक हुने महाशाखाले जनाएको छ । सडकको बीच भाग साढे एक मिटरको हुनेछ । 

ठेकेदार कम्पनीले सुरुङमार्ग प्रवेशद्वारसम्म जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसार सुरुङमार्ग बनाउनेछ । कम्पनीले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । 

महाशाखाका अनुसार, सुरुङमार्ग प्रवेश गर्ने सडकमा तीनवटा पुल, दुई अन्डरपास र एक÷एक वटा ओभर पास तथा फ्लाई ओभर बनाउनुपर्नेछ । सुरुङमार्ग प्रवेश गर्ने बाटोका खोल्सामा ११ वटा कल्भर्टसमेत बनाउनुपर्ने छ ।

नेपालकै पहिलो लामो सुरुङमार्ग

नागढुङ्गा सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङमार्गको रुपमा निर्माण हुन लागेको हो । आयोजना प्रमुख खरेलका अनुसार, मुलुकको आर्थिक समृद्धिका लागि यस सुरुङमार्गले अहम् भूमिका खेल्नेछ । 

उनी भन्छन्, ‘मुलुकको समुन्नतीका निम्ति यो मार्ग अत्यन्तै महत्वपूर्ण छ । यसको माध्यमबाट मालबाहक सवारी साधन पनि छिट्टै काठमाडौं आउन सक्छन् । अझै भनौं नौबिसे नागढुङ्गाको उकालो पार गर्ने झन्झट कुनैपनि सवारीसाधनले लिनुपर्दैन । जसबाट आर्थिक रुपमा पनि फाइदा पुग्छ भने समयको पनि बचत हुन्छ ।’ 


Back_to_top