नागढुंगा सुरुङमार्ग २४सैं घण्टा संचालन गर्न १५० जनशक्ति चाहिने

काठमाडौं । नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनका लागि कम्तीमा १५० जना जनशक्ति आवश्यक पर्ने भएको छ ।

सुरुङमार्ग २४ सै घण्टा संचालन गर्न र सुरुङमार्ग भित्र दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा उपलब्ध गराउन उक्त संख्यामा जनशक्ति आवश्यक पर्ने भएको हो ।

नागढुंगा सुरुङमार्ग परियोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्ग २४ सै घण्टा संचालन गर्न १५० जनशक्ति आवश्यक पर्ने देखिएको बताए ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते स्वीकृत गरेको खरिद निर्देशिका अनुसार सुरुङमार्ग संचालन गर्न उक्त संख्याका जनशक्ति आवश्यक पर्ने उनले बताए ।

उनका अनुसार श्रम कानुन अनुसार एउटा कामदारलाई दैनिक ८ घण्टा बढी काम लगाउन पाइँदैन । सो अनुसार सुरुङमार्ग २४ सै घण्टा संचालन गर्दा तीन सिफ्टमा कामदार खटाउनुपर्ने हुन्छ । एकैपटक फिल्डमा कमै मात्रै कामदार खटिने भए पनि शिफ्ट अनुसार मिलाएर ड्युटी खटाउन १५० जनशक्ति आवश्यक पर्ने उनले बताए ।

‘सुरुङमार्ग २४ सैं घण्टा संचालन हुन्छ । लेबर ल अनुसार एउटै व्यक्तिलाई दैनिक ८ घण्टा बढी काम लगाउन पाइँदैन । नियम अनुसार बिदा पनि दिनुपर्छ । २४ घण्टा सुरुङ संचालन गर्दा ३ शिफ्टमा कर्मचारी खटाउनुपर्छ । शिफ्ट अनुसार कर्मचारी खटाउँदा कुल १५० जना आवश्यक पर्ने देखिन्छ,’ उनले मेरोअटोसँग भने ।

सुरुङ संचालन गर्ने विशेष प्राविधिक, सुरक्षागार्ड, टोल उठाउने कर्मचारी, ट्राफिक व्यवस्थापन, सिभिल संरचना मर्मत लगायत जनशक्ति चाहिने उनले बताए ।

उनका अनुसार सुरुङमार्ग संचालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहने छन् । जसमा सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा धेरै ६४ जना कर्मचारी रहने छन् ।

त्यस्तै, सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनसँग टोल (दस्तुर) उठाउन ५४ जना कर्मचारी रहनेछन् । सुरुङमार्गको दुवैतर्फको प्रवेशद्धारमा टोल बुथ रहने छन् । उठाइएको शुल्क सडकको बोर्डमा जम्मा हुने व्यवस्था मिलाइने छ । सरकारले सुरुङमार्गको टोल शुल्क समेत तोकिसकेका छ ।

त्यसैगरी, ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको निर्देशक नेपालले जानकारी दिए ।

सुरुङमार्ग संचालनका लागि आवश्यक पर्ने १५० कर्मचारीहरू ग्लोबल टेन्डरबाट छनोट हुने सेवाप्रदायक कम्पनीले नै व्यवस्था गर्नुपर्नेछ । सुरुङमार्ग संचालनका लागि मात्रै वार्षिक ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आयोजनाले ५ वर्षसम्म सुरुङमार्ग संचालन तथा मर्मतका लागि आइतबार (कात्तिक १६ गते) ग्लोबल टेन्डर आह्वान गरेको छ । उक्त बोलपत्रमा आगामी २ पुस (१७ डिसेम्बर २०२५)सम्म आवेदन पेश गर्नुपर्नेछ । बोलपत्रमा सहभागी हुने कम्पनीले ज्वाइन्ट भेन्चर (जेभी)का रूपमा अनिवार्य नेपाली कम्पनी राख्नुपर्ने छ ।

सुरुङमा अत्याधुनिक प्रणाली जडान गरिएको छ । सडक विभागको हालको सीमित अनुभव, उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत संचालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो ।

हाल सुरुङमार्गको भौतिक प्रगति ९६ प्रतिशत नाघेको छ । सुरुङमार्गको सबै काम सम्पन्न भइसकेको छ । सुरुङमार्गको पश्चिम पोर्टलतर्फ पहिरो नियन्त्रण, टोलबुथ निर्माण लगायत केही काम मात्रै बाँकी रहेको निर्देशक नेपालले जानकारी दिए ।

निर्माण कम्पनीले पहिरो नियन्त्रणको ४/५ वटा डिजाइन पेश गरेको उनले बताए । कुन डिजाइन अनुसार काम गर्ने भन्ने टुंगिन बाँकी रहेको उनले बताए ।

अहिले सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएता पनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण संचालनमा ल्याइएको छैन ।

मुख्य सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ ।


Back_to_top