नाइमा मोबिलिटी एक्स्पोको ‘गरिमा’ बढाउने यी दृश्य

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ लाई नाइमाको औचित्यसँगै जोडिएर हेरिएको थियो । सुरु हुनु अघि अनेकौं टिकाटिप्पणी सुनिन्थे । यो विगतको नाडा अशो जस्तै मात्र हुन्छ, सोभन्दा फरक केही हुँदैन । ग्राहकलाई कुनै नयाँपन दिन सक्दैन लगायत ।

तर, मोबिलिटी एक्स्पो संचालनका दौराह नाइमाले केही हदसम्म आफ्नो औचित्य पुष्टि गरेको देखिन्छ ।फराकिला स्टल र अवलोकनकर्ताका लागि फराकिलो बाटोले कुशल व्यवस्थापन झल्काउँछ । फराकिलो बाटो भएकै कारण अपांगता भएका व्यक्तिहरूले पनि सहजै मोबिलिटी एक्स्पो अवलोकन गर्न पाएका छन् ।

‘प्रायःजसो मेला, महोत्सवमा अपांगता भएका व्यक्तिको आवतजावतलाई उपेक्षा गरिन्थ्यो । आउजाउ गर्न निकै गाह्रो हुन्थ्यो,’ एक अवलोकनकर्ताले भने, ‘तर, यसपटक अटो शोमा निकै सहज अनुभूति गरेँ । मलाई ह्वीलचियरमा हिँड्न कुनै समस्या भएन । फराकिलो र व्यवस्थित बाटो बनाएकोमा आयोजकलाई धन्यवाद ।’

उनी जस्तै अपांगता भएका अन्य व्यक्तिहरू पनि मोबिलिटी एक्स्पोमा आउजाउ गर्न कुनै असहजता नभएको बताउँछन् । आयोजक प्रति उनीकहरूको कुनै गुनासो छैन ।

सयौं मानिसको भीडमा पनि निवार्ध ह्वीलचियर गुडिरहेका छन् । अवलोकनकर्ताका लागि बिछ्याइएको रेड कार्पेट माथि ह्वीचियरमा बस्ने र उनीहरूका सहयोगीले कतै ठोक्किनु परेको छैन । सहजै आवत जावत गरिरहेका देखिन्छ ।

काठमाडौंका मुख्य सडकमा समेत अपांगता भएका व्यक्तिहरूले सहज यात्रा गर्न सक्ने अवस्था छैन । तर, व्यापारिक उद्देश्यले आयोजना गरिएको एक्स्पोमा अपांगता भएका व्यक्तिलाई पनि ख्याल गरी संरचना बनाउनु आफैंमा सकारात्मक कदम हो ।


Back_to_top