नामी-०१ किन्ने कि ‘एटो-वान’ ? यस्तो छ भिन्नता

काठमाडौं । ह्याचब्याक कार सेग्मेन्टमा नामी पछिल्लो पटक सर्वाधिक चर्चामा रहेको मोडलमा पर्छ । त्यसअघि नै टाटा टियागो ईभीले ह्याचब्याक कारको मार्केट उथलपुथल गरेको थियो ।

टाटा टियागोलाई पछाडि धकेल्दै अगाडि निस्केको नामीसँग प्रतिस्पर्धा गर्न अहिले बीवाइडीले एटो-वान मोडल ल्याएको छ । बीवाइडीले चीनमा सिगल नामबाट बिक्री गर्दै आएको ह्याचब्याक कार नै एटो-वान नामबाट नेपाल ल्याएको हो ।

चिनियाँ अटोमोबाइल ग्रुप डोङफेङ अन्तर्गतको नयाँ ब्राण्ड नामीलाई नेपालमा एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धि मोटर्सले बिक्री गर्दै आएको छ । बीवाइडीका कारहरूको आधिकारिक बिक्रेता साइमेक्स इंक हो ।

बीवाइडी एटो-वानको बजार प्रवेशसँगै नामी-०१ ह्याचब्याकसँग तुलना गरेर हेर्नेहरू बढ्दै गएका छन् । त्यसैले हामीले पनि यी दुई मोडल बीच रहेका भिन्नतालाई यहाँ केलाउने प्रयास गरेका छौं ।

ब्याट्री र रेन्ज

नामी-०१ ह्याचब्याक कारको टप भेरियन्ट ई ३ मा ४२.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ३१७ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी परीक्षणले देखाएको छ ।

बीवाइडी एटो-वानको टप भेरियन्टमा ३८.८८ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीकै परीक्षणले देखाएको हो ।

मूल्यमा १ लाख ४ हजार फरक

लगभग मूल्य दुवै कारको टप स्पेकको उस्तै छ । बीवाइडी एटो-वानको प्रिमियम भेरियन्ट किन्न ३२ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्छ ।

सुरूमा ३५ लाख ९९ हजार रुपैयाँबाट बिक्री सुरू भएको नामी ह्याचब्याकको टप भेरियन्ट ई-३ अहिले ३३ लाख ९९ हजार रुपैयाँमा नै खरिद गर्न सकिन्छ । यी दुई मध्ये एटो-वान १ लाख ४ हजार रुपैयाँ कम मूल्यमा पाइन्छ ।

मोटर पावर

दुवै ह्याचब्याक कारमा ५० किलोवाटभन्दा कम क्षमताका इलेक्ट्रीक मोटर छन् । नेपाल सरकारले ५० किलोवाटभन्दा कम क्षमताको मोटर भएका कारमा कम कर लगाउने भएको कारण यी दुवै मोडल पावर कम गरेर नेपाल ल्याइएको हो । नामीले १६० एनएम टर्क जेनेरेट गर्छ । एटो-वानले भने १३५ एनएम टर्क जेनेरेट गर्छ ।

नामी-०१ ह्याचब्याकमा ४९.५ किलोवाट क्षमताको मोटर छ । बीवाइडीले एटो-वानमा ४५ किलोवाटको मोटर दिएको छ ।

साइजमा कति फरक ?

साइजको आधारमा तुलना गर्दा नामी-०१ थाेरै अगाडि देखियो । नामी ह्याचब्याकको लम्बाइ ४०३०, चौडाइ १८१० एमएम र उचाइ १५७० एमएम छ ।

बीवाइडी एटो-वानको लम्बाइ ३९९० एमएम, चौडाइ १७२० एमएम र उचाइ १५९० एमएम छ । दुवै कार ५ सिट क्षमताका हुन् । ह्वीलबेसको आधारमा पनि नामी अगाडि देखिन्छ । नामी-०१ मा २६६० एमएम लामो ह्वीलबेस छ । एटो-वानमा २५०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

सुरक्षा फिचर

सुरक्षाको लागि महत्वपूर्ण मानिएको एयरब्यागमा एटो-वान अगाडि छ । एटो-वानमा स्टायण्डर्ड रुपमै ६ एयरब्याग दिइएको छ । जबकि नामी-०१ मा दुई एयरब्याग मात्रै छ ।

एयरब्यागको अलावा दुवै कारमा चारवटै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । तर, अहिले सबैभन्दा धेरै चर्चा हुने एडास फिचर नामी-०१ मा मात्रै छ । एडाससँगै ३६० डिग्री क्यामेरा, फ्रन्ट कोलिजन वार्निङ र लेन किप एसिस्ट जस्ता फिचर नामीमा मात्रै छ ।

अन्त्यमा, नामी-०१ प्रिमियम ह्याचब्याक सेग्मेन्टमै आउनु पर्ने मोडल हो । यसको मूल्यको कारण अर्बान ह्याचब्याकसँग सिधै प्रतिस्पर्धा गर्ने देखियो । बीवाइडी एटो-वान पूर्ण अर्बान कार हो । सहरी क्षेत्रको सहज मोबिलिटीको लागि बीवाइडीले उत्पादन गरेको एटो-वान मूल्यको हिसाबले केही बढी लाग्न सक्छ । तर, नेपालमा कम्पनीले बनाएको ब्राण्ड नेम, नेटवर्क लगायतका कुराले धेरैको ध्यान खिच्छ ।


Back_to_top