काठमाडौं । लिपमोटरले आफ्नो सी सिरिज एसयूभीहरु एकसाथ अपडेट गर्ने भएको छ । कम्पनीले सी-१०, सी-११ र सी-१६ एसयूभी अपग्रेड गरेर १२ दिनपछि बजारमा ल्याउने भएको हो ।
लिपमोटरका सिनियर भाइस प्रेसिडेन्ट काओ लीले एकै पटक ३ एसयूभी अपग्रेड गर्न लागिएको जानकारी दिएका हुन् । उनका अनुसार जुन १६ तारिखमा नयाँ अपग्रेड भएर आउने मोडलले लिपमोटरलाई थप बलियो बनाउने छ ।
नेपाली बजारमा लिपमोटर सी-१० राम्रो संख्यामा बिक्री भएको एसयूभी हो । अन्य दुई मोडल भने नेपाल आएका छैनन् । आज मात्रै लिपमोटरले आफ्नो अपग्रेड भएको सी-१० को बाहिरी र भित्री तस्बिर सार्वजनिक गरेको छ ।
नयाँ सी-१० एसयूभीमा हेडलाइट युनिट परिवर्तन भएको छ । अब स्प्लीट हेडलाइट डिजाइन दिइएको छ । पहिलेभन्दा १० एमएम लामो बडी बनाइएको छ । नयाँ सी-१० एसयूभीको लम्बाइ ४७४९ एमएम भएको छ । ह्वीलमा पनि १८ र २० इन्चको छनोट उपलब्ध हुनेछ ।

यसअघि १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध सी-१० एसयूभी अब भने २३० किलोवाट मोटरमा आउने अनुमान छ । ब्याट्री परिवर्तन भएको वा नभएको बिषयमा कुनै जानकारी प्राप्त छैन ।


