काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशभर निर्माण सुरू भई अलपत्र परेका, ठेक्का लागेर पनि सुरू नभएका वा पूरा नभएका, त्रुटी देखिएका पुलहरूको समस्या यथाशिघ्र समाधान गर्न निर्देशन दिएका छन् ।
सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा कार्यक्रमको समापन शत्रमा बोल्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् ।
पुल निर्माणको क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भीर रुपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पुलको निर्माण कार्य अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
मन्त्री दाहालले पूर्वाधार निर्माणसँगै बेरुजू फस्र्यौट र रुग्णठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रम जस्ता विशेष महत्वका क्षेत्रमा श्रोत साधनको अभाव हुन नदिने समेत उनले प्रतिवद्धता जनाए ।
यस्तै उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजश्व संकलनमा सहयोग पुग्ने संरचना, कृषि उपजको बजारीकरण लगायतमा सहयोग पुाग्ने आयोजना, योजनामा समेत विशेष ध्यान दिने उनले जनाए ।
यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैं अघि नै देश भरिका सडक खाल्डा रहित बनाउने काम अघि बढाउन निर्देशन दिए । गत आर्थिक वर्षको पूँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउने गरी काम गर्न निर्देशन दिए ।

