काठमाडौं । कर छुट सुविधाका कारण नेपालीले विद्युतीय सवारी साधन (ईभी)मा करिब ४० लाख रुपैयाँ बराबरको अप्रत्यक्ष अनुदान पाइरहेको एक अध्ययनले देखाएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको ‘टुवार्ड क्लिन एयर इन नेपालः बेनिफिट्स, पोलुसन सोर्सेस एन्ड सोलुसन्स’ प्रतिवेदनले यस्तो देखाएको हो ।
ईभीमा इन्टर्नल कम्बस्चन इन्जिन (आइसीई) गाडीको तुलनामा निकै कम कर लाग्ने व्यवस्थाकै कारण उपभोक्ताले सस्तो मूल्यमा ईभी किन्न पाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार हाल नेपालमा हलुका सवारी (लाइड ड्युटी भेहिकल-एलडीभी) आइसीई गाडीहरूको सीआइएफ मूल्य (लागत, बीमा, ढुवानी) को आधारमा कर र शुल्कको प्रतिशत औसतमा २४७ प्रतिशत छ ।
तर, त्यही वर्गको ईभीमा लाग्ने कर ३० प्रतिशत मात्रै हुन आउने प्रतिवेदनमा उल्लेख छ । यसरी आइसीई र ईभीमा लाग्ने कर फरक हुँदा उपभोक्तले ईभीमा अप्रत्यक्ष रुपमा ४० लाख अनुदान पाइरहेको विश्व बैंकको विश्लेषण छ ।
‘यदि आइसीई सवारीमा लाग्ने बराबरको कर ईभीमा पनि लगाउने हो भने नेपालमा लाइट ड्युटी भेहिकल ईभीको मूल्य ६४.३ लाख रुपैयाँ पुग्ने थियो,’ प्रतिवेदनमा भनिएको छ,’ ‘जुन अहिलेकोभन्दा झन्डै तीन गुणा बढी हो ।’
विश्व बैंकले आइसीईको तुलनामा ईभीको मूल्य कसरी सस्तो परेको छ भन्ने उदाहरण समेत दिएको छ । उदाहरणका लागि, १००० सीसी क्षमताका आइसीई गाडीको औसत मूल्य ३०.६ लाख रुपैयाँ पर्छ । जसमा कर (भ्याटसहित) २१.८ लाख अर्थात् ७१.२ प्रतिशत कर लाग्छ ।
त्यसैको तुलनामा ५० किलोवाटसम्मको क्षमताका ईभीको औसत मूल्य २४.१ लाख रुपैयाँ मात्र पर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । जसमा केबल २३ प्रतिशत मात्रै कर लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी नेपालमा ईभी गाडी आइसीईके तुलनामा औसतमा २१ प्रतिशत सस्तो बनाएको प्रतिवेदनमा उल्लेख छ ।
सरकारको कर नीतिकै कारण नेपालमा ईभीलाई किफायती बनाएको र यसको प्रयोगलाई प्रोत्साहन गरेको बताइएको छ ।

