खर्बको व्यापार गर्ने जीर्ण दुई सडक, छैनन् गाडी गुडाउन लायक

काठमाडौं । नेपालले हाल चीनसँग वार्षिक झण्डै ३ खर्बको व्यापार गर्छ । १४ वटा नाकाबाट नेपाल चीन व्यापार हुँदै आएको छ । सोमध्ये अधिकांश व्यापार रसुवागढी र तातोपानी नाकाबाटै हुन्छ । हाल नेपालमा आयात हुने करिब ७० प्रतिशत ईभी यी नाका हुँदै भित्रिन्छन् । यी नाकाबाट राज्यले वर्षेनी अर्बौं राजस्व उठाउँछ ।

तर, चीनसँग व्यापार गर्ने मुख्य दुई सडक कोदारी राजमार्ग (काठमाडौं-तातोपानी) र पासाङल्हामु राजमार्ग (काठमाडौं-धुन्चे-रसुवागढी)को अवस्था जीर्ण छ । यी सडक हुँदै आवतजावत गर्न भने निकै कठिन छ ।

दुवै सकड साँघुरो, खाल्डाखुल्डी, घुमाउरो छन् । वर्षायाममा बाढी पहिरोको जोखिम उत्तिकै छ । निवार्ध आवत जावत गर्नसक्ने अवस्था छैन । जसकारण यात्रा गर्न घण्टौं समय लाग्ने र ढुवानी लागत समेत बढ्ने गरेको छ ।

दशकौं अघि बनाइएका यी दुवै सकड हालसम्म स्तरोन्नति हुन सकेका छैनन् । काठमाडौं-तातोपानीको दुरी ११४ किमी र काठमाडौं-रसुवागढी (गल्छी-धुन्चे-स्याफ्रुबेँसी हुँदै)को दुरी १७५ किमी छ । हाल तातोपानीबाट काठमाडौं आउन ५/६ घण्टा लाग्ने गरेको छ भने रसुवाबाट आउन दिनभर लाग्छ ।

तातोपानी र रसुवागढी पुग्ने दुवै सडक व्यापारिक र रणनीतिक हिसाबले समेत निकै महत्वपूर्ण छन् । यदि यी सडक चिल्ला र फराकिलो हुने हो भने करिब २/३ घण्टामै यात्रा गर्न सकिन्थ्यो । अर्बौं रुपैयाँ ढुवानी लागत र घण्टौं समय बच्थ्यो ।

सरकारले हरेक वर्ष बजेटमा यी दुवै सडक समेट्छ । बजेट छुट्याउँछ । तर, कागजी भाषण र काम गराईको तादम्यता नमिल्दा र सडक अवस्था दशकौंदेखि जस्ताको तस्तै छ । अर्थात् सरकारको दृढ इच्चा शक्तिको कमी र प्राथमिकतामा नपर्दा दुवै नाका पुग्ने सडक स्तरोन्नति भई फराकिलो बन्न सकेका छैनन् । यद्यपि, सरकारले दुवै सडकको केही खण्ड फराकिलो बनाउन सुरू गरेको छ । तर, वर्षौंदेखि काम सुस्त छ ।केही अलपत्र छ ।

यस्तो छ पछिल्लो अवस्था 

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक  : यो नेपाललाई चीनसँग जोड्ने छोटो दुरी र प्रमुख व्यापारिक सडक हो । सरकारले रसुवागढी पुग्न पासाङल्हामु राजमार्गको विकल्पमा गल्छी-त्रिशूली-स्याफ्रुबेँसी सडक आयोजना अघि बढाएको छ । तर, निर्माण थालिएको ९ वर्षमा आधा पनि काम पूरा हुन सकेको छैन ।

८२ किलोमिटर लामो यस सडकलाई ३ खण्डमा विभागजन गरी निर्माण गरिँदै छ । जसमा एउटा खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ दुई खण्डको काम नै सुरू भएको छैन ।

४६ किमी लामो पहिलो खण्ड (गल्छी-त्रिशूली-मैलुङ) खण्डको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ ।  यस खण्डको गल्छीदेखि मैलुङसम्म ३८ किलोमिटर (बीच बीचमा केही भाग बाँकी) कालोपत्र भइसकेको छ ।

यद्यपि, नुवाकोटको मुख्य बजार क्षेत्र गँगटे, बट्टार, विदुर हुँदै ढुङ्गेसम्मको क्षेत्रमा मुआब्जा विवादको समस्याले काम सुरू हुन सकेको छैन । ती क्षेत्रको अतिक्रमित संरचना हटाउन सूचना जारी गरिएको आयोजना प्रमुख (सीडीई) खड्गलाल श्रेष्ठले बताए । त्यस्तै, बेत्रावतीदेखि मैलुङसम्मको केही अहिले भित्तो कटानको काम भइरहेको उनले बताए ।

‘पहिलो खण्डको ४६ किमी मध्ये करिब ३८ किमी कालोपत्र सम्पन्न भइसकेको छ । समग्र भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ,’ उनले मेरोअटोसँग भने, ‘तर, नुवाकोटको बजार क्षेत्रमा मुआब्जा विवादका कारण अतिक्रमित संरचना हटाउन सकिएको छैन । हटाउन सूचना जारी गरेका छौं । संरचना हटाएपछि कामले गति लिन्छ ।’

३ वर्षभित्र काम सक्ने लक्ष्यमा साथ सुरू गरिएको यो खण्ड १० पटक म्याद थप्दा समेत पूरा हुन नसकेको उनले बताए । २०७३ कात्तिक २२ गते कोभी टुन्डी रसुवा जेभीसँग २०७५ भदौसम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । तर, हालसम्म १० पटक म्याद थप्दा पनि अझै १७ प्रतिशत काम बाँकी छ ।  यसखण्डको लागत ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँ छ ।

त्यस्तै, दोस्रोखण्ड (मैलुङ-स्याफ्रुबेँसी) १९ किलोमिटरको दोस्रो चरणको काम सुरू नै भएको छैन । नेपाली सेनाले ट्रयाक खोलेपछि यो खण्डमा निर्माण व्यवसायीमार्फत काम गराउन २०७७ साउन १ गते ठेक्का लगाइएको थियो । २० महिना भित्रै काम सम्पन्न गर्ने गरी १ अर्ब ४५ करोडमा ठेक्का लगाइएको थियो । तर,  निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷सिद्धिसाई जेभीले पटक पटक म्याद थप्दा पनि काम नगरेपछि २०८० माघमा ठेक्का तोडिएको थियो ।

अब फेरि नयाँ ठेक्का लगाई काम अघि बढाइने योजना प्रमुख श्रेष्ठले बताए । उनले ठेक्का प्रक्रियाका लागि अर्थ मन्त्रालयसँग प्रक्रियाका लागि सहमति माग गरिएको जानकारी दिए । सहमति प्राप्त हुने बित्तिकै नयाँ ठेक्का लगाइने उनको भनाइ छ । यसखण्डको मैलुङ पारीपट्टीको अधिकांश ठाउँमा भित्तो कटान, पुल निर्माण लगात काम सम्पन्न भएको छ । मैलुङ वारीपट्टी भित्तो कटान लगायत काम सुरू नै भएको छैन ।

त्यस्तै, १६ किमी लामो तेस्रो खण्ड (स्याफ्रुबेँसी-रसुवागढी)को पनि काम सुरू भएको छैन । यो खण्ड चिनियाँ सरकारले अनुदानमा बनाइदिने सहमति भएको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार यस खण्डको चिनियाँहरूले चाँडै थाल्ने तयारी गरेका छन् । हाल चिनियाँ पक्षले सडक निर्माणको लागि बासस्थान बनाउने, कामदार ल्याउन भिसा प्रक्रिया लगायत पूर्वतयारीको काम गरिरहेको उनले बताए । निर्माण थालिएको ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

कुल साढे ९ अर्ब अनुमानित लागत रहेको गल्छी रसुवागढी सडकको हालसम्म ४ अर्ब ६५ करोड रुपैयाँ खर्च भइसकेको छ । आगामी आवका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

काठमाडौं-तातोपानी सडक : सरकारले चीनसँगको अर्को प्रमुख व्यापारिक नाका तातोपानी पुग्ने सडक स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेको देखिँदैन । विस २०२३ सालमा बनेको यो सडक ५ दशक बित्दा पनि स्तरोन्नति भएको छैन ।

११४ किमी लामो यससडकको सूर्यविनायकसम्मको १६ किमी सकड ८ लेनमा विस्तार भइसकेको छ । हाल सूर्य विनायकदेखि धुलिखेलसम्मको थप १५ किमी सडक ६ लेनमा विस्तार भइरहेको छ । यसखण्डको झण्डै आधा काम सकिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

त्यस्तै, धुलिखेलदेखि-खावासम्मको ४ किलोमिटर सडक फराकिलो बनाउन एकसाता भित्रै टेन्डर आह्वान गर्ने तयारी रहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । यो खण्ड स्तरोन्नतिका लागि यसअघि २०७९ जेठ २० मा ठेक्का लगाइएको थियो । तर, पटक पटक म्याद थप्दा पनि ठेकेदार लिउको गौरी-पार्वती निर्माण सेवाले काम नगरेपछि २०८१ फागुनमा ठेक्का तोडिएको थियो । कम्पनीले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा उक्त सडक निर्माणको ठेक्का पाएको थियो । कम्पनीले करिब २५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

खावादेखि सिन्धुपाल्चोकको बनदेउसम्मको सडक तत्कालै विस्तारको योजना नरहेको उनले बताए । यस खण्डमा सामान्य ममर्त सम्भार गरिने उनको भनाइ छ ।

सडक विभागका उपमहानिर्देश एवम् प्रवक्ता प्रभातकुमार झाले अरनिको राजमार्ग अन्तर्गत ठेक्का लागेका र प्रक्रियामा रहेका बाहेक अन्य खण्डमा आगामी आवमा स्तरोन्नतिको योजना नरहेको बताए । उनले यस सडकमा पहिरो नियन्त्रण, नयाँ बेलिब्रिज जडान र पुल मर्मत गरिने बताए ।

बनदेउदेखि कोदारीसम्मको ५३ किमीमध्ये २६.५ किमी सडक भने दुई लेनमा स्तरोन्नति गरिने भएको छ ।  सडक डिभिजन चरिकोटका अमितकुमार श्रेष्ठले वनदेउदेखि बाह्रबिसेसम्म सडक मर्मत गर्ने र बाह्रबिसेबाट लिपिङसम्म सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार बाह्रबिसेदेखि कोदारीसम्मको २६.५ किलोमिटर खण्ड स्तरोन्नतिका लागि टेन्डर आह्वान भइसकेको जानकारी दिए ।  ६ वटा कम्पनीले आवेदन दिएको प्राविधिक मूल्यांकनबाट ५ योग्य ठहरिएको उनले बताए । ती कम्पनीको आर्थिक प्रस्ताव मूल्यांकनको चरणमा रहेको उनले बताए ।

‘चीनसँगको मुख्य व्यापारी नाका तातोपानी पुग्ने सडकको बाह्रबिसे कोदारी खण्डको २६.५ किमी सडक डबल लेनमा स्तरोन्नति गर्न लागेका छौं । टेन्डर आवहान भई प्राविधिक मूल्यांकन समेत भइसेको छ,’ उनले मेरोअटोसँग भने, ‘असारभित्रै ठेक्का सम्झौता भई आगामी आवदेखि काम सुरू हुन्छ ।’

कोदारी राजमार्ग भौगोलिक जटिलताका धेरै चौडा गर्ने भूगोल नभएकाले हालका लागि बढीमा ९.४५ मिटर सडक चौडा गरी कालोपत्रे गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको उनले बताए ।

यस खण्डको अनुमानित लागत २ अर्ब ३७ करोड रहेको उनले जानकारी दिए । उक्त रकम स्रोत सुनिश्चित भई ठेक्का प्रक्रिया अघि बढाइएको उनले बताए ।

३ वर्षभित्र निर्माण सम्पनन गर्ने लक्ष्य छ । आगामी आवमा अरनिको राजमार्गका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


Back_to_top