काठमाडौं । नेपालकै सबैभन्दा पावरफुल डीसी चार्जर जडान हुने भएको छ । प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यही अगस्ट अन्तिमसम्ममा देशभर २५ स्थानमा चार्जर संचालनमा ल्याउने भएको हो ।
कम्पनीले प्रोटोन ब्राण्डमा ईभी आयात थालेसँगै देशका विभिन्न भागमा चार्जर जडान थालेको हो । अहिले टेक्निसियनहरूले चार्जर राख्ने स्थान छनोट गरिरहेको कम्पनीको भनाइ छ ।
‘पश्चिम नेपालमा चार्जर राख्ने स्थानहरू छनोट भइसकेका छन् । चाँडै निर्माण र जडानको प्रक्रिया सुरू हुन्छ । हामी अगस्ट अन्तिमसम्ममा २५ स्थानमा चार्जर संचालनमा ल्याउँछन् । सुरूमा हरेक २०० किलोमिटरमा एउटा चार्जर राख्ने हाम्रो योजना हो’, जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु क्षेत्रीले मेरोअटोसँग भने ।
उनका अनुसार कम्पनीले राख्ने चार्जिङ सेन्टरमा सीसीएस-टु र जीबीटी चार्जर पनि रहने छ । अहिले कम्पनीले जीबीटी चार्जर लाग्ने भ्यानहरू पनि बिक्री गर्दै आएकोले यस्तो मिश्रित गन भएको चार्जिङ सेन्टर बनाउन लागेको हो ।
नेपालमा अहिलेसम्म सबैभन्दा ठूलो चार्जर प्राधिकरणले राखेको छ । उक्त चार्जरहरुमा ६०/६० किलोवाट क्षमताको दुई गन उपलब्ध थियो । अब प्रोटोनले बनाउन लागेको चार्जिङ स्टेशनमा ८०/८० किलोवाटको दुई गन हुने छन् ।
सन् २०२३ देखि अहिलेसम्मको अवधिमा देशभर जीबीटी र सीसीएस-टु गरेर १ हजार युनिटभन्दा धेरै चार्जर स्टल भएका छन् । यसले विद्युतीय सवारी साधनको प्रयोग बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
अहिले नेपालमा ३५० किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्ने गाडीहरू उपलब्ध छन् । तर, साना चार्जर हुँदा धेरै समय चार्जिङ स्टेशनमा बस्नु पर्ने अवस्था छ । अधिकांश गाडीले सपोर्ट गर्ने ८० किलोवाटको डीसी चार्जरले तीव्र गतिमा गाडी चार्ज गर्नेछ ।