अब हङकङ हुँदै यात्रा गर्न नेपालीले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

काठमाडौं । अब नेपाली नागरिकले हङकङ ट्रान्जिट हुँदै अन्य देशमा यात्रा गर्न ट्रान्जिट भिसा लिनुनपर्ने भएको छ ।

हङकङ सरकारले नेपालबाट हङकङ हुँदै अन्य मुलुक जाँदा-आउँदा नेपाली नागरिकले लिनुपर्ने अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो ।

नेपाली महावाणिज्य दूतावास हङकङका अनुसार यो नयाँ नियम भोलि (१५ नोभेम्बर)देखि लागू हुनेछ । यससँगै अब हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुलाई यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

‘हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात् हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको छ । साथै, यो प्रावधानले नेपाली राहदानी बाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको छ,’ महावाणिज्यदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हङकङले सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न नेपाली राहादानी बाहकले भिसा लिनु पर्ने नियम लागू गरेको थियो ।

निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले नयाँ निर्णय गरेको दूतावासले जनाएको छ ।  यो कदमले दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास समेत लिइएको छ ।


Back_to_top