काठमाडौं । कुनै समयको चिनियाँ ईभी मार्केटको राइजिङ स्टार नेटा अटोले बैंकरप्सी फाइल गर्ने भएको छ । कम्पनीले आज (जुन १२)मा बैंकरप्सीको प्रक्रिया सुरू गर्ने चिनियाँ मिडियाहरूले समाचारमा उल्लेख गरेका छन् ।
हिजो मात्रै कामदारले आफूले काम गरेको ज्याला माग्दै नेटा अटोका चेयरम्यान फ्याङ यान्जाओलाई घेराउ गरेको भिडियो चिनियाँ सामाजिक संजालमा भाइरल भएको थियो । करिब १०० जनाभन्दा बढी कामदारहरू कम्पनीको संघाईमा रहेको नयाँ कार्यालयमा जम्मा भएका थिए ।
नेटा अटो विगत १ वर्षदेखि आर्थिक संकट भोग्दै आएको थियो । कम्पनीले सन् २०२४ देखि नै उधारो बापतको रकम भुक्तानी नगरेको भन्दै मुद्दाहरू खेपिरहेको थियो । गत वर्ष कम्पनीले एकैपटक २ हजार ९०० जना कामदार कटौती गरको थियो ।
त्यतिबेला हटाइएका कामदारहरूले आफ्नो ज्याला पाउन सकेका छैनन् । उनीहरूले अदालतमा मुद्दा समेत जितेका छन् ।
गत मार्चमा अदालतको आदेशमा कम्पनीको दुई बैंकका खाता रोक्का राख्दा जम्मा ७०० युवान (७० अमेरिकी डलर) मात्रै बाँकी रहेको थियो ।