काठमाडौं । सीजी मोटर्सले एक्सपेङको लग्जरी एमपीभी नेपाल ल्याएको छ । कम्पनीले चिनियाँ स्टार्टअप एक्सपेङले बनाएको एक्स-नाइन एमपीभी नेपाल ल्याएको हो ।
सन् २०२३ को ग्वान्झाओ अटो शोमा लन्च भएको एक्स-नाइनलाई अन्तर्राष्ट्रिय बजारमा ‘एक्स-नाइन स्टारशिप’ नाम दिएर बिक्री गर्दै आएको छ । एक्सपेङले एक्स-नाइन एमपीभीलाई ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनाएको हो । त्यसैले यसले ३३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
एक्सपेङको एक्स-नाइन एमपीभीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम छ । हाइटेक फिचरले भरिपूर्ण एमपीभीमा लाइडार बिनाको हक आई एडास सिस्टम दिएको छ । यसमा जिरो ग्राभिटी सिट डिजाइन भएकोले लग्जरी यात्रा गर्न सकिन्छ ।
६ र ७ सिट क्षमताको बनाउन मिल्ने एमपीभीको पहिलो दुई रो सिटहरू १४ तरिकाले मिलाउन मिल्नेछ । हिटेड र भेन्टीलेटेडसँगै १६ पोइन्ट मसाज फङ्सन दिइएको एमपीभी यात्राको लागि उत्कृट रहेको छ । तेस्रो लायनमा रहेको सिटमा पनि हिटिङ सुविधा छ ।
यात्रुको आरामको लागि सस्पेन्सन सिस्टममा ‘सिक्स डी एआई एन्टी मोसन सिक्नेस’ उपलब्ध छ । यसमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिङ्क इन्डिपेन्डेन्ड सस्पेनसन छ । यी दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम रहेको छ । जसले एक्स-नाइनको उचाइ ९० एमएमसम्म बढाउन सकिन्छ ।
यसको क्याबिनमा रियर प्यासेन्जरको लागि समेत सिलिङ माउण्टेड २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिएको छ । प्यानारोमिक सनरुफ, फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल पाउन सकिन्छ ।
नेपाल आएको एक्सपेङ एक्स-नाइनमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसमा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसको डब्लूएलटीपी रेन्ज ४८० किलोमिटर छ ।
सीजी मोटर्सले नेपाल ल्याएको एक्स-९ एमपीभीको मूल्य कति कायम भएको कम्पनीले एकिन जानकारी दिएको छैन । तर, यसको आयात मूल्य ५० हजार अमेरिकी डलरभन्दा माथि देखिएको छ । यसमा २३५ किलोवाटको मोटर भएकाले ६० प्रतिशत भन्सार शुल्क र ३५ प्रतिशत अन्तःशुल्क लाग्छ ।
भन्सार बिन्दुमै लाग्ने रोड डेभलपमेन्ट फण्ड बापतको रकम ५ प्रतिशत र १३ प्रतिशत भ्याट तिर्नुपर्छ । यसरी हेर्दा भन्सार पास हुँदा नै एक्स-नाइन एमपीभीको मूल्य १ लाख २५ हजार डलर हाराहारी परेको देखिन्छ ।


