काठमाडौं । होजोज अटोले नयाँ इलेक्ट्रीक एसयूभीको परिक्षण गरिरहेको तस्बिरहरु बाहिर आएका छन् । चिनियाँ स्टार्टअप कम्पनी होजोनले ‘नेटा एल’ नाममा नयाँ एसयूभी ल्याउन लागेको हो ।
चीनको ट्रेडमार्क ट्रेडमार्क रजिस्टर कार्यालयका अनुसार यो एसयूभीको नाम नेटा एल हुनेछ । बीवाइडीको फिनड्रिम्स कम्पनीले बनाएको ब्लेड ब्याट्री प्रयोग हुने नेटा एलको मूल्य ४२ हजार डलर हाराहारी पर्नेछ । यसको मतलव आउँदै गरेको एसयूभी प्रिमियम फिचरले भरिपूर्ण हुनेछ ।
सुरुमा कम मूल्यको ईभी उत्पादनबाट बजारमा प्रवेश गरेका नेटा ब्राण्ड अब प्रिमियम सेग्मेन्टमा बलियो बन्दै जाने देखिएको छ । होजोन अटोसँग अहिले नेटा आया, नेटा एक्स, नेटा एस तथा नेटा जीटी जस्ता मोडल छन् । जुन सबैभन्दा कम मूल्यको नेटा आया हो । अहिले नेपालमा रहेको नेटा भी नै फेसलिफ्ट भएर आया नामबाट आएको हो ।

नेटा एल होजोन अटोको फ्ल्यागसिप एसयूभी हो । स्पाई सटमा देखिए अनुसार नेटा एलमा स्लान्टेड रुफलाइन, हिडन डोर ह्याण्डल, परम्परागत साइड भ्यू मिरर र रियर राइट फेन्डरमा चार्जिङ पोर्ट रहेको छ । यसमा नेटा एस सेडानको जस्तै रियरमा वारपार कनेक्टेड एलइडी लाइट रहेको देखिन्छ ।
ओभल आकारमा रहेको हेडलाइट, स्पोर्टी ट्रापेड सेप एयर इनटेक र ड्यासबोर्डमा रहेको ठूलो साइजको दुई वटा स्कृन, यात्रुको लागि छुट्टै मोनीटर यसमा रहने छ ।
होजोनले ल्याउने नयाँ एसयूभीमा करिब ३००० एमएम लामो ह्वीलवेस रहने छ । यसको चौडाई पनि निकै फराकिलो १९८० एमएम रहने छ । कम्पनीले यसमा ७२.०८ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री दिने छ । यसको अनुमानित रेन्ज ५०० किलोमिटर हुनेछ । यसमा १७० किलोवाटको मोटर जडान हुनेछ ।

