काठमाडौं । अंग्रेजी आर्थिक वर्ष २०२३ अप्रिलदेखि नोभेम्बर १५ तारिखसम्ममा ७ हजार १८८ यूनिट निजी सवारीसाधनमा प्रयोग हुने कार, जीप, भ्यान नेपाल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालमा एसयूभी क्रेज पहिल्यैदेखि थियो । टोयोटा, महिन्द्रा र मित्शुवीसीका एसयूभीले नेपाली सडकमा पैसा खर्च गर्न सक्नेहरुलाई सेवा दिदै आएका थिए । तर, मूल्यका हिसावले धेरै मानिसको पहुँचमा पुग्ने एसयूभीको आयात सन् २०१३ बाट भएको हो ।
सन् २०१३ मा फोर्डले इकोस्पोर्ट मोडल नेपालमा ल्याएसँगै साना एसयूभीले बजारमा ठूलो तरङ्ग ल्यायो । त्यसपछि आएको हुन्डाई क्रेटा, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सेल्टोस, किया सोनेट, जस्ता मोडलले बजारमा ठूलो उथलपुथल ल्याए ।
सन् २०२० मा आएको निसान म्याग्नाइट, रेनो काइगरदेखि महिन्द्रा एक्सयूभी ३०० सम्मले ग्राहकलाई छनोट दिए । यीसबै मोडलको सफलता बीच एमजी जेडएस ईभी, हुन्डाई कोना, बीवाइडी एटो थ्री जस्ता इलेक्ट्रीक कारले बजारमा एसयूभीको मार्केट सेयरलाई निकै माथि पु¥याए ।
कसको बजार हिस्सा कति ?
बजार हिस्साको आधारमा ६३.३६ प्रतिशत बजार हिस्सा कम्प्याक्ट एसयूभी सेग्मेन्टको देखिन्छ । यो सेग्मेन्टमा हामीले माथि चर्चा गरेका सबै इलेक्ट्रीक र इन्टरनल कम्बस्चन इन्जिन भएका कारहरु पर्छन् ।

त्यसपछि केही वर्ष अगाडिसम्म सबैभन्दा ठूलो बजार हिस्सा रहेको साना ह्याचव्याक तथा सेडान कारहरुको बजार हिस्सा रहेको छ । यस अवधिमा १ हजार ९१६ यूनिट कारहरु आयात भएका छन् । जुन कुल आयातमा २६.६५ प्रतिशत बजार हिस्सा बराबर हो ।
यस बाहेक बाँकी रहेका गाडी ठूला एसयूभी सेग्मेन्टमा हामीले प्रस्तुत गरेका छौं । अप्रिलदेखि नोभेम्बर १५ तारिखसम्म कुल ७१७ यूनिट ठूला एसयूभी तथा भ्यान आयात भएका छन् । यसको बजार हिस्सा १० प्रतिशतभन्दा केही कम देखिन्छ ।


