काठमाडौं । चिनियाँ न्यू इनर्जी स्टार्टअप कम्पनी होजोनले झेजियाङ फ्याक्ट्रीबाट उत्पादन रोकेको समाचार बाहिरिएको छ । निरन्तर बिक्रीमा आएको गिरावटका कारण उत्पादन रोकेको र माथिल्लो तहका कर्मचारिको तलब पनि घटाएको बताइएको छ ।
विबोमा निरन्तर ब्लग लेख्दै आएका होजोनका सीईओ झाङ योङले पछिल्लो समय कुनै लेख लेखेका छैनन् भने टिकटकमा समेत कुनै पोष्ट गरेका छैनन् ।
नेटा ब्राण्डको न्यू इनर्जी भेहिकल उत्पादन गर्ने कम्पनी होजोन अटो सन् २०१८ स्थापना भएको थियो । अफोडेबल प्राइसको नेटा भी उत्पादन गरेको कम्पनीले सन् २०२२ मा आफ्ना समकक्षी कम्पनीहरू ली अटो, नियो तथा एक्सपेङ भन्दा धेरै संख्यामा गाडि बिक्री गरेको थियो ।
उक्त समयमा कम्पनीले वार्षिक १ लाख ५० हजार कार बेच्न सफल भएको थियो । तर, पछिल्लो समयमा नेटाले धेरै मूल्यका टेक्निकल एड्भान्स मोडलहरू लन्च गरेको थियो । नेटाको लाइनअपमा अहिले नेटा भी, नेटा एक्स, नेटा जीटी, नेटा एल, नेटा एस तथा नेटा एस हन्टिङ गरी ६ वटा मोडलका कारहरू रहेका छन् ।

तर, नेटाले अप मार्केटमा प्रवेश गर्नु गलत निर्णय भएको देखिएको छ । कम्पनीले यस वर्ष ९ महिना (जनवरी–सेप्टेम्बर)मा जम्मा ५३ हजार ८५३ युनिट मात्र कार बेच्न सफल भएको छ । ९ महिनामा नेटाले आफ्नो बिक्री लक्ष्यको ३० प्रतिशत मात्र भेटाउन सफल भएको छ ।
नेटाले हालसम्म अक्टोबरको बिक्री संख्या समेत सार्वजनिक गरेको छैन । अघिल्लो महिना १ तारिखमै कुल बिक्री संख्या सार्वजनिक गरेको थियो । चिनियाँ अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार अक्टोबरमा नेटाको बिक्री जम्म ४ हजार ५०० युनिट हाराहारी मात्र रहेको छ । जुन अघिल्लो महिनाको भन्दा ४० प्रतिशतले कम हो ।
चिनियाँ मिडियाहरूको रिपोर्ट अनुसार नेटाको झेजियाङ फ्याक्ट्रीमा आधा महिना (महिनामा १५ दिन) मात्रै उत्पादन गरिरहेको छ । यो प्लाण्ट कम्पनीको मूख्य म्यानुफ्याक्चरिङ प्लाण्ट हो । नेटा एल क्रसओभर उत्पादन हुने यो प्लाण्टको उत्पादन लक्ष्य २ लाख युनिट रहेको थियो ।

यो वर्ष कम्पनीले कामदारको तलब समेत घटाएको सूचनाहरू बाहिरिएको छ । कम्पनीमा काम गर्ने केही कामदारहरूले अक्टोबरमा अघिल्लो महिनाको तलब समेत नपाएको बताएका थिए । कम्पनीले माथिल्लो तहका कर्मचारिको ३० प्रतिशतले तलब घटाएको बताइएको छ ।
तर, कम्पनीले गत अक्टोबर ३१ मा आधिकारिक जानकारी दिँदै सबै कर्मचारीका लागि इक्विटी इन्सेन्टीभ प्लान ल्याउन लागेको बताएको थियो । यो प्लान अनुसार कम्पनीको ५ प्रतिशत इक्विटी कर्मचारीलाई बाँड्ने जनाएको थियो ।
होजोन अटोको खुद घाटा सन् २०२१ देखि २०२३ सम्म निरन्तर बढिरहेको छ । कम्पनीले सन् २०२१ मा ६७६ मिलियन, सन् २०२२ मा ९३० मिलियन र सन् २०२३ मा ९६० मिलियन डलर घाटा व्यहोरेको थियो । सन् २०२३ को अन्त्यमा कम्पनीसँग मात्र ३९५ मिलियन डलर नगद जम्मा थियो । कम्पनीे हङकङ स्टक एक्सचेन्जमा लिस्टिङको लागि निवेदन समेत दिएको थियो ।

होजोन अटोले चीनमा समस्यामा पर्नुको मूख्य कारण घरेलु बजारमा कमजोर बिक्री हो । तर, कम्पनीको अन्तर्राष्ट्रिय बजारको बिक्री भने उत्साहजनक रहेको छ । नेटाले हालै मात्र मध्य एसिया, साउथइस्ट एसिया, ल्याटिन अमेरिका, तथा साउथ अफ्रिकामा समेत बिक्री सुरू गरिसकेको छ । होजोनले युरोपियन बजारमा समेत लन्च गर्ने प्लान गरेकोमा पछिल्लो समय ईयूले लगाएको नयाँ कर योजनाले रद्द भएको छ ।
कम्पनीले चीन बाहिर सन् २०२३ नोभेम्बरदेखि थाइल्याण्डमा उत्पादन प्लाण्ट संचालनमा ल्याएको थियो भने यस वर्षको जुनदेखि इन्डोनेशियामा दोस्रो अन्तर्राष्ट्रिय प्लाण्टबाट उत्पादन सुरू गरेको थियो ।

