काठमाडौं । भारत मोविलिटी एक्स्पो नजिकिँदै गर्दा विभिन्न ब्राण्डले आफ्ना उत्पादन सार्वजनिक गर्ने तयारी थालेका छन् । त्यस्तोमा होन्डा, सुजुकी र टीभीएसले इलेक्ट्रीक स्कुटर सार्वजनकि गर्ने भएका हुन् ।
होन्डा र सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजार उर्ताने तयारी थालेका हुन् भने टीभीएसको तेस्रो उत्पादन हुनेछ ।
२०२५ को जनवरी हुने भारत मोविलिटी एक्स्पोमा होन्डाले आफ्नो चर्चित स्कुटर एक्टीभाको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्दैछ भने, सुजुकीले वर्गम्यान इलेक्ट्रीक र टीभीएसले जुपिटर इलेक्ट्रीक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
हालै सार्वजनिक एक रिपोर्टमा होन्डा इन्डियाले २०२५ को मार्चदेखि आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बिक्री सुरू गर्ने बताएको थियो । होन्डा एक्टिभामा स्वाप गर्न मिल्ने ब्याट्री प्याक उपलब्ध हुनेछ । यसमा हुने अन्य फिचरमा फुल डिजिटल टचस्क्रीन डिस्प्ले, किलेस स्टार्ट, कनेक्टेड फिचर, राइड मोड छन् । यो स्कुटर १ लाख मूल्य हाराहरीमा आउने अनुमान गर्न सकिन्छ ।
त्यस्तै, विभिन्न समयमा भारतीय सडकमा परिक्षणको क्रममा देखिएको सुजुकी वर्गम्यान इलेक्ट्रीक स्कुटर भारत मोविलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने भएको छ । २०२४ को अन्त्यबाट उत्पादन सुरू हुने भनिएको यो स्कुटर जनवरी २०२५ मा सार्वजनिक हुनेछ ।
परिक्षणको क्रममा देखिएको वर्गम्यान इलेक्ट्रीक पेट्रोल भर्सनसँग मिल्दो डिजाइनमा रहेको छ । वर्गम्यान इलेक्ट्रीकमा व्लुटुथ कनेक्टीभीटी सहितको फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध हुनेछ । यो स्कुटरमा फिक्स्ड ब्याट्री प्याक (झिक्न नमिल्ने) उपलब्ध हुने बताइएको छ ।
त्यसैगरि, आइक्यूव र एक्स इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको टीभीएसले नयाँ स्कुटर बजारमा ल्याउने चर्चा भइरहेको छ । कम्पनीले लामो समयदेखि नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरू बाहिर आइरहेको छ । यसै क्रममा आगामी जनवरी २०२५ मा हुने भारत मोविलिटी एक्स्पोमा जुपिटर इलेक्ट्रीक सार्वजनिक गर्ने अनुमान गरिएको छ । केही समय अघि कम्पनीले आगामी ६ महिना भित्रमा नयाँ स्कुटर सार्वजनिक गर्ने बताएको थियो ।

