काठमाडौं । सिजी मोटर्सले झण्डै ११ महिना अगाडि बुकिङ खुला गरेको नेटा एक्सको बिक्री सुरू हुने भएको छ । कम्पनीले झण्डै ११ महिना अगाडि नाडा अटो शो २०२३ मा बुकिङ सुरू गरेको नेटा एक्स अब भने उपभोक्ताले पाउने भएका हुन् ।
सिजी मोटर्सले गत बैशाखमा एक यूनिट नेटा एक्स नेपाल ल्याएर टेष्ट ड्राइभ र बुकिङ दुबै खुला गरेको थियो । कम्पनीले बिक्रीको लागि ल्याएको नेटा एक्स आगामी साता काठमाडौं आइपुग्ने भएको हो ।
‘अहिले केरूङ बोर्डर नजिक गाडी आइपुगेको छ । आइतवार वा सोमबारसम्म नेपाल प्रबेश गर्नेछ । त्यसको दुई दिनमा काठमाडौं आउने र त्यसपछि बिक्री सुरु हुनेछ’, कम्पनीले स्रोतले भन्यो ।
निकै ठूलो साइज, आधुनिक फिचर र ५३ लाख मूल्य भएकै कारण यसले राम्रो बजार पाउने कम्पनीको विश्वास थियो । जुन कुरा बुकिङबाट पनि प्रस्ट भएको कम्पनीको भनाइ छ ।

कम्पनीले विभिन्न तीन भेरियन्टमा यसलाई बजारमा ल्याउन लागेको छ । यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । स्टायण्डर्ड मोडलमा ५१.८ किलोवाट आवर र लङ रेन्ज मोडलमा ६२ किलोवाट आवर ब्याट्री रहने छ ।
सिजी मोटर्सले सर्ट रेन्ज मोडल एउटा मात्रै भेरियन्ट (कम्फर्ट)मा ल्याउने छ । लङ रेन्ज मोडल भने कम्फर्ट र इन्टेलिजेन्ट भेरियन्टमा आउने छ ।
सर्ट रेन्ज मोडलले सिंगल चार्जमा ४०० किलोमिटर र लङ रेन्ज मोडलले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । दुबै मोडलमा समान ९९ किलोवाट आवरको ब्याट्री रहने छ ।
सिजी मोटर्सले सर्ट रेन्ज कम्फर्ट भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेर बिक्री सुरु गर्ने जनाएको थियो । तर, यसबीचमा बजेट मार्फत करका दर बढेपनि कम्पनीले मूल्य बढाउने वा नवढाउने विषयमा केही जानकारी दिएको छैन ।
त्यसैगरी दुई भेरियन्टमा उपलब्ध हुने लङ रेन्ज मोडलको कम्फर्ट भेरियन्टको मूल्य ५७ लाख ९९ हजार र इन्टेलिजेन्ट भेरियन्टको ६१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको थियो ।

