काठमाडौं । वेलायती लग्जरी अटोमोबाइल कम्पनी जागुवार ल्याण्ड रोभरले फुल्ली इलेक्ट्रीक रेन्ज रोभर निकट भविष्यमै लन्च गर्ने भएको छ । हालै इलेक्ट्रीक रेन्जरोभर तथा रेन्ज रोभर स्पोर्ट पब्लिक रोड टेस्टका क्रममा देखिएका छन् ।
धेरै युरोपियन कम्पनीहरू ईभीमा बिजनेसमा घाटा खाइरहेको अवस्थामा जागुवार ल्याण्डरोभरले ढिलोगरी ईभी लन्च गर्न लागेको हो । कम्पनीले केही समय अगाडि नै इलेक्ट्रीक रेन्ज रोभरको अफिसियल तस्वीरहरू सार्वजनिक गरेको थियो । तर, रेन्ज रोभरको स्पोर्ट मोडलको भने यस अघि चर्चा भएको थिएन । आगामी वर्ष लन्च हुने अनुमान गरिएको यी ईभीहरू दक्षिण युरोपमा रोड टेस्ट भइरहेको हो ।

इलेक्ट्रीक रेन्ज रोभर र रेन्ज रोभर स्पोर्ट एमएलए इलेक्ट्रीक प्ल्याटफर्ममा बन्नेछ । यो ईभीमा १०० किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । यसमा ५०० देखि ६०० हर्सपावर दिने इलेक्ट्रीक मोटर हुनेछ भने यसको रेन्ज एक पटकको फुलचार्जमा ५०० किलोमिटरसम्मको रहनेछ ।
केही महिना अघि मात्रै जेएलआर ग्रुपले चिनियाँ चेरी ग्रुपसँग प्ल्याटफर्म सेयरिङको सम्झौता गरेको थियो । कम्पनीले आगामी दिनमा अफोडेबल इलेक्ट्रीक लग्जरी एसयूभी बनाउनको लागि चेरिको सबब्राण्ड एक्सइडको एम ३ एक्स वा ई ० एक्स प्ल्याटफर्मको प्रयोग गर्नेछ ।

