चितवनमा आगामी साता सार्वजनिक हुँदै नेभो क्यू ०५

काठमाडौं । चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड नेभोको नयाँ एसयूभी ‘नेभो क्यू ०५’ आगामी साता चितवनमा सार्वजनिक गरिने भएको छ ।

एमएडब्लू वृद्धि अटोकर्पको चितवनको आधिकारिक बिक्रेता राजहंस अटोमोबाइल प्रालिले आगामी साता नेभो क्यू ०५ लन्च गर्ने तयारी थालेको हो ।

नेभो क्यू०५ ले स्पेस, कम्फर्ट, डिजाइन र प्रविधिमा आफ्नोभन्दा माथिल्लो सेग्मेन्टका गाडीमा पाइने अनुभव दिने लक्ष्य राखेको छ ।

नयाँ नेभो क्यू ०५ ले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २,७३५ एमएमको ह्वीलबेसले सहरी सडकका लागि उपयुक्त आकार कायम राख्दै यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ। पछाडिको सिटमा तीन जना वयस्क सहज रूपमा बस्न सक्ने गरी डिजाइन गरिएको छ । सिटलाई २८ डिग्री वा ३३ डिग्रीमा ढल्काउन सकिने भएकाले यात्रुले दूरी र आवश्यकताअनुसार बस्ने मुद्रा परिवर्तन गर्न सक्छन्।

क्यू०५ मा नौ तहमा तयार गरिएको सिट संरचना प्रयोग गरिएको छ । जसले नरमपन, शारीरिक सपोर्ट र टिकाउपन बीच सन्तुलन कायम गर्छ । यात्रुले नियमित रूपमा छुने क्याबिनका भागमा सफ्ट टच सामग्री प्रयोग गरिएको छ। सडक र गाडीबाट आउने अनावश्यक आवाज तथा कम्पन कम गर्न ६७ भन्दा बढी एनभीएच नियन्त्रण उपाय अपनाइएको छ।

डिजाइनमा पनि क्यू ०५ को लक्ष्य आफ्नो सेग्मेन्टभन्दा माथि देखिन्छ। चांगानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट क्लाउस जिकोराको नेतृत्वमा तयार भएको यसको डिजाइन प्रक्रियामा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञ संलग्न थिए । क्यू०५ को यही डिजाइनले सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरेको छ।

डिजिटल विङ २.० फ्रन्ट सिग्नेचर र स्टार रिङ म्याट्रिक्स टेललाइटले यसलाई छुट्टै पहिचान दिएका छन्। त्यस्तै, ०।२६५ सीडी ड्र्याग कोइफिसियन्टले यसको सफा डिजाइन केवल आकर्षक देखिनका लागि नभई हावाको प्रतिरोध घटाउन पनि तयार गरिएको देखाउँछ।

प्रविधितर्फ, क्यू०५ मा ५१.९ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्रीसँग गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि उपलब्ध छ। उपयुक्त चार्जर, तापक्रम र सञ्चालन अवस्थामा यसको थ्री सी फास्ट चार्जिङ प्रणालीले ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।

५४० डिग्री क्यामेराले गाडीको वरिपरि र तलको क्षेत्र हेर्न सहयोग गर्छ। भेरियन्टअनुसार उपलब्ध १८ वटासम्म ड्राइभर असिस्टेन्स फिचरले ड्राइभिङलाई थप सहज र सुरक्षित बनाएको छ ।


Back_to_top