‘जेडएफ’ले ल्यायो ईभी चढ्नेलाई खुसी बनाउने खबर

काठमाडौं । विद्युतीय गाडी (ईभी) चढ्नेहरूको लागि जर्मन कम्पनी ‘जेडएफ’ले खुसीको खबर ल्याएको छ । कम्पनीले विद्युतीय कारको मोटर बिग्रदा पुरै फेर्नु नपर्नेगरी ‘रिपेयर किट’ सार्वजनिक गरेको हो ।

विद्युतीय गाडीको लागि पावरट्रेन उत्पादन गर्दै आएको जेडएफले मोटर भित्र रहेका बियरिङजस्ता सामान्य पार्ट बिग्रिँदा मर्मत गर्न मिल्ने रिपेयर किट ल्याएको छ । जसको प्रयोगले ठूलो आर्थिक बचत हुने कम्पनीले जनाएको छ ।

जर्मन अटो पाट्र्स निर्माता जेडएफले ईभीसँगै हाइब्रिड कारमा प्रयोग हुने मोटरको लागि पनि रिपेयर किट ल्याउने जनाएको छ । कम्पनीका अनुसार अहिले १०० भन्दा बढी प्रकारका इलेक्ट्रीक एक्सल रिपेयर किट बजारमा आउने छ । कम्पनीले यसलाई आफ्नो ‘मेन्टेन–रिपेयर–रिप्लेस’ रणनीतिको हिस्सा बनाएको छ ।

कम्पनीको उद्देश्य सम्भव भएसम्म बिग्रिएको पार्ट मात्र मर्मत वा प्रतिस्थापन गर्ने र आवश्यक परेको अवस्थामा मात्रै पूरै एसेम्ब्ली फेर्ने रहेको देखिन्छ । जेडएफले अहिलेसम्म कार निर्माताहरूको लागि ६० लाखभन्दा बढी इलेक्ट्रीक मोटर उत्पादन गरिसकेको छ । ती मोटर पूर्ण विद्युतीय तथा हाइब्रिड दुवै प्रकारका सवारीमा प्रयोग हुँदै आएका छन् ।

बियरिङ बिग्रिँदा पूरै मोटर किन फेर्ने ?

ईभीको ड्राइभ युनिटमा मोटरको घुम्ने गति घटाएर पाँग्रामा पुग्ने टर्क बढाउने ‘रिडक्सन गियरबक्स’ हुन्छ । यसमा रहेका शाफ्टहरूलाई घुमाउन बियरिङको महत्वपूर्ण भूमिका हुन्छ ।

कमजोर लुब्रिकेसन, धुलो वा अन्य प्रदूषण तथा एलाइनमेन्ट नमिल्दा यी बियरिङ समयअगावै घिस्रिन वा बिग्रिन सक्छन् । तर, बियरिङमा मात्र समस्या आएको अवस्थामा पनि कतिपय ईभीमा पूरै ड्राइभ युनिट फेर्नु पर्ने अवस्था आउँछ ।

जेडएफले यही समस्यालाई लक्षित गर्दै रिपेयर किट ल्याएको हो । यसमा इलेक्ट्रीक ड्राइभ युनिटको रिडक्सन गियरबक्समा प्रयोग हुने बियरिङ कम्पोनेन्ट रहनेछ । वर्कसपलाई पूरै मोटर फेर्नुको सट्टा बिग्रिएको कम्पोनेन्ट मात्र मर्मत गर्ने विकल्प दिने कम्पनीको भनाइ छ ।

मर्मत खर्च घट्ने अपेक्षा

जेडएफका अनुसार बिग्रिएको पार्ट मात्र फेर्न सकिने भएपछि वर्कसपले ग्राहकलाई पूरै मोटर प्रतिस्थापन गर्नुपर्ने बाध्यता कम हुनेछ । यसबाट मर्मत खर्च, सवारी मर्मतमा लाग्ने समय र फोहोर समेत घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जेडएफ आफ्टरमार्केटका प्यासेन्जर कार बिजनेस लाइन प्रमुख मार्कस विटिगले नयाँ समाधानले विद्युतीय ड्राइभट्रेनको मर्मतलाई वर्कसपका लागि थप सहज बनाउने बताए । उनका अनुसार कम्पनीले उत्पादन तहमा हासिल गरेको प्राविधिक ज्ञानलाई आफ्टरमार्केट मर्मत सेवामा प्रयोग गर्ने प्रयास गरेको हो ।

जेडएफले युरोपमा बढी बिक्री हुने २० वटा ईभीमध्ये करिब ९२ प्रतिशत मोडललाई समेट्ने गरी आफ्नो ईभी पाट्र्स पोर्टफोलियो विस्तार गरिरहेको छ । यसमा ब्रेक, स्टेयरिङ, सस्पेन्सन र ड्राइभट्रेन फ्लुड्सलगायतका पाट्र्ससमेत छन् ।

नयाँ रिपेयर किट कुन-कुन गाडीका लागि उपलब्ध हुने, मूल्य कति पर्ने र मर्मतमा कति श्रम खर्च लाग्ने भन्ने विवरण जेडएफले सार्वजनिक गरेको छैन ।

ईभीको प्रयोग बढ्दै जाँदा महँगो ड्राइभ युनिटलाई पूरै फेर्नुको सट्टा बिग्रिएको पार्ट मात्र मर्मत वा परिवर्तन गर्ने अभ्यासले ईभीको दीर्घकालीन मर्मत लागत घटाउनुका साथै रिसाइकल तथा पुनःप्रयोगलाई समेत प्रोत्साहन गर्न सक्ने देखिन्छ ।


Back_to_top