अनुहार फेरेको पल्सर एन १६०

काठमाडौं । ‘डफेनेटली मेल’ स्लोगबाट सन् २००१ मा सुरु भएको पल्सर सिरिज र बजाज मोटरसाइकलको यात्रा अहिले विश्वको ७० भन्दा बढी देशमा सबैभन्दा मनपराईने इन्डियन ब्राण्ड बनेको छ । आफ्नो ब्यवसायीक यात्राको सुरुवातसँगै स्कुटर उत्पादनमा संलग्न बजाज अटोले त्यसपछि मोटरसाइकल, तीन पाङ्ग्रे टेम्पो र सानो क्वाडी कारसम्म उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

सन् २०२१ बाट सुरु भएको पल्सरको यात्रामा सन् २०२१ बाट नयाँ जेनेरेशनको सुरुवात भएको कम्पनीले बताएको थियो । त्यतिवेला पल्सर सिरिजकै सबैभन्दा ठूलो मोटरसाइकल पल्सर २५० एन र २५० एफ सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक राजिव बजाजले भनेको थिए, ‘पल्सर अब नयाँ डिजाइन र योजना सहित अगाडि बढ्छ ।’

उनको भनाईको करिब ७ महिनापछि पल्सर सिरिजमा उपलब्ध १६० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल बजारमा आएको छ । यसअघि पल्सर एनएस १६० नामबाट उपलब्ध मोटरसाइकललाई हटाएर आएको पल्सर १६० एन विल्कुलै नयाँ डिजाइनमा आएको मोटरसाइकल हो ।

कम्पनीले यसको इन्जिन, ह्वील, इन्धन ट्याङ्की, बडी प्यानल, हेडलाईट, टेललाइट, इन्ट्रुमेन्ट क्लष्टरदेखि एगजस्टसम्म परिवर्तन गरेको छ । निकै फ्रेस लुक्समा देखिएको पल्सर १६० एन आफ्नो नयाँ जेनेरेशन मोडल पल्सर २५० एनको बेबी भर्सन भन्दा फरक पर्दैन ।

बजाजले पल्सर सिरिजमा रहेको १५० र एनएस २०० को पनि नयाँ जेनेरेशन मोडल चाँडै बजारमा ल्याउने तयारी गरिरहेको समाचारहरु आइरहेका छन् । यी सबै मोडललाई बजाजले सन् २०२३ को मध्यसम्ममा अपग्रेड गरिसक्ने छ । साथै पल्सर सिरिजमा पहिलो इलेक्ट्रीक मोटरसाइकल पनि आउने अनुमान गरिएको छ ।

विगतदेखि नै युवापुस्ता केन्द्रित डिजाइनमा स्पोर्टी मोटरसाइकल उत्पादनमा अब्बल सावित हुँदै आएको बजाजले नयाँ जेनेरेशनबाट कत्तिको प्रभाव पार्न सक्छ अहिल्यै भन्न सकिने अवस्था छैन । यद्यपि जुन हिसावले पहिलेको मोडलमा ब्यापक परिमार्जन कम्पनीले गर्दै आएको छ, त्यसले भोलिका दिनमा बजाजलाई थप मजबुद बनाउने अनुमान भने गर्न सकिन्छ ।

के छ पल्सर १६० एनमा ?

बजाजले पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की नयाँ पल्सरको बलियो पक्ष हो ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजले १६० एनमा सिंगल च्यानल र डबल च्यानल एबीएसको अप्सन दिएको छ । मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील, दिइएको छ । भारतीय बजारमा सिंगल च्यानल भेरियन्टको मूल्य १ लाख २३ हजार भारु रहेको छ भने डबल च्यानल भेरियन्टको १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।

कहिले आउला नेपाल ?

भारतीय बजारमा उत्पादन भएको नयाँ पल्सर सिरिज अहिलेसम्म नेपाल आएको छैन । बजाजले नेपालमा नै एसेम्बल गर्ने भएको कारण केही तयारीको लागि समय लागेको कम्पनी स्रोतले जनाएको थियो । अब १६० सीसी सेग्मेन्टमा नै नयाँ मोटरसाइकल भारतमा सार्वजनिक भएको कारण छिट्टै यो मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ । सम्भवत आगामी नाडा अटो शो २०२२ मा पल्सर १६० एन नेपाल आउने छ ।


Back_to_top