काठमाडौंको पार्किङ समस्या समाधान गर्ने बालेन नीति

काठमाडौं । महानगरमा कमर्शियल भवन बनाउँदा भूमिगत तल्ला वा भूइँतल्लामा पार्किङ वा भण्डारण जे गर्ने भनेर नक्सा पास भएको छ, त्यही प्रयोजनमा लगाउनु पर्ने भएको छ । त्यसो भए वा नभएको निरिक्षण गर्न महानगरले संयन्त्र निर्माण गर्ने भएको हो ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आइतबार सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख भएको छ । साथै, महानगर क्षेत्र भित्रका सबै भवनहरुलाई ‘क्युआरकोड’मा आवद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिका भित्र बनेका धेरै भवनहरु मापदण्ड विपरीत सञ्चालन रहेका छन् । भवनका भूमिगत तल्लामा पार्किङको सट्टा पसल, रेष्टुरेन्ट एण्ड बार संचालन भइरहेका छन् । भवन निर्माण गर्दा भूमिगत तल्लामा पार्किङ बनाउने बनेर स्वीकृत लिइएको भएपनि निर्माण सम्पन्नपछि अन्य प्रयोजनमा प्रयोग गर्ने र त्यसलाई ब्यवसायीक रुपमा भाडामा लगाउने गरिएको कारण अब त्यसको प्रभावकारी अनुगमन गर्न खोजिएको महानगरको भनाई छ ।

महानगरले अब नयाँ बन्ने भवनमा भूमिगत अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्ने जनाएको छ । भवन तथा मलहरु निर्माणका क्रममा नक्सा पास गर्दा अनिवार्य पार्किङको व्यवस्था गर्नु पर्छ । पुराना भवनहरुमा यसरी बन्ने अण्डरग्राण्ड तल्लामा गोदाम राख्ने चलन रहेको थियो ।

विगतमा भएका प्रयास र योजना

काठमाडौं महानगरपालिकाले न्यूरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिका स्थानमा स्मार्ट पार्किङ व्यवस्था मिलाएको छ । सो स्थानमा हाल एकपटकमा करिब ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गरिदै आएको छ ।

हाल विशाल बजार, न्यूरोड, दरबारमार्ग लगायतका क्षेत्रमा निःशुल्क तथा शःशुल्क पार्किङको व्यवस्था रहेको छ । दरबार मार्गमा खुलेका मल र सपिङ सेन्टरले पार्किङ ब्यवस्था गरेका छैनन् । तयसैगरी बागबजार, नयाँ बजार, मैतीदेबी, जोरपाटी, बत्तीसपुतली, रातोपुल जस्ता क्षेत्रमा सडकमा नै अस्तब्यस्थ पार्किङ गर्ने गरिएको छ ।

गफले टारिएका योजना

विगतका वर्षमा महानगरपालिकाले टेकु, त्रिपुरेश्वर, न्यूरोड क्षेत्रको पार्किङ व्यवस्थापनका लागि भर्टिकल बहुतले पार्किङ बनाउने योजना बनाएको थियो । उक्त योजना महानगरपालिकाले कार्यान्वयनमा ल्याउन सकेन ।

भर्टिकल पार्किङ स्थापना गर्ने भनेर गृहकार्य सुरु गरेपनि पछि त्यो योजना त्यतिकै हराएर गएको हो । सवारीसाधन व्यवस्थापनकै लागि महानगरपालिकाले मेट्रो रेल, मोनो रेल संचालन गर्नेसम्मको योजना ल्याएको थियो । यस्ता योजना निर्माण सम्पन्न गर्ने र जाम ब्यवस्थापन गर्ने योजना महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ ।


Back_to_top