काठमाडौं । अटो मेला ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ यसैसाता (साउन २६ गते) मात्रै सकियो । आगामी सातादेखि फेरि अर्को अटो शो ‘नाडा अटो शो २०२५’ आयोजना हुँदैछ ।
१७ औं संस्करणको नाडा अटो शो भदौ ३ गतेदेखि सुरू हुँदैछ । जहाँ धेरै कुरा नयाँ हुने आयोजक नाडाले जनाएको छ । यस पटक अटो शोमा फ्लाइङ कारदेखि ह्युमनेड रोबोट र एनिमल रोबोटसम्म प्रदर्शन हुने भएको हो । कारको उड्ने रूप नै अटो शोमा आउने भएको कारण अटोमोबाइल र टेक्नोलोजी पारखीहरूलाई अटो शोले तान्ने छ ।
उड्ने गाडी र रोबोट मुख्य आकर्षण भए पनि नाडा अटो शोमा एक दर्जन बढी नयाँ कार मोडल सार्वजनिक हुनेछन् । मोटरसाइकल र लाइट कमर्शियल सेग्मेन्टमा पनि थुप्रै नयाँ लन्चिङ रहने छ ।
नाडा अटो शोमा भारतमा बनेका दुई ठूला ब्राण्डका इलेक्ट्रीक एसयूभी सार्वजनिक हुने छन् । भारतीय ब्राण्ड टाटाले ह्यारीयर ईभी र इन्डो-जापानी ब्राण्ड मारुती सुजुकीले ई-भिटारा अटो शोमार्फत बाहिर ल्याउने छन् ।

सुजुकीको पहिलो ईभी भएको कारण सीजी मोटोकर्पले निकै उत्साहपूर्ण सहभागिता जनाउँदैछ ।टाटा ह्यारीयर ईभी भने रियल अफरोडरको रूपमा पोजिसनिङ भएको कारण धेरै नेपालीले प्रतिक्षा गरिरहेको मोडल हो ।

चिनियाँ कम्पनी चांगनले बनाएको लुमिन सबैभन्दा कम मूल्यको विद्युतीय मिनी कारको रूपमा नाडा अटो शोमा प्रस्तुत हुनेछ । उक्त कारले केई इक्यूट-०२ र फोर, एमजीको कोमेट तथा डोङफेङको मिनी ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

चांगानकै न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलले पनि नाडा अटो शोमा मिडसाइज सेग्मेन्टको एसयूभी एस-०५ लन्च गर्नेछ । प्रिमियम सेग्मेन्टमा एस-०७ बाट आफ्नो बलियो उपस्थिति जनाएको दीपलले सबैभन्दा बढी प्रतिस्पर्धी रहेको मिडसाइज एसयूभी सेग्मेन्टमा धेरै मोडलहरूसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।
अत्याधुनिक टेक्नोलोजी र फ्युचरस्टिक डिजाइनमा आएको एस०५ को मूल्य सुन्न धेरै उपभोक्ता लालयित छन् ।

मूल्यमा चासो राख्ने धेरै उपभोक्ताको लागि नाडा अटो शोमा डोङफेङ नामी र बीवाइडीले कम्प्याक्ट एसयूभी लन्च गर्दैछन् । नेक टु नेक कम्पिटिसन गर्ने यी नामी-०६ र एटो-टुको मूल्य प्रतिस्पर्धा हेर्न लायक हुनेछ । कम्प्याक्ट मिडसाइज सेग्मेन्टको पहिलादेखि नै धेरै क्राउडेड मार्केटमा नामी ०६ र एटो२ को स्ट्रयाटिजी कस्तो हुने हो हेर्न रोचक हुनेछ ।

एलएस अटोले आफ्नो औचित्य प्रस्तुत गर्न र कम्पनी स्क्याम होइन भनेर पुष्टि गर्न नाडा अटो शोमा दुई मोडल लन्च गर्दैछ । बजारको हल्ला विपरीत एलएस अटोले लाइनअपमा नयाँ मोडल थप्न लागेको हो ।
एलएस अटोको प्रिमियम ह्याचब्याक सेग्मेन्टमा एलईभी ०५ मोडल ल्याउने छ । अल ह्वील ड्राइभ सेग्मेन्टमा एलईभी एक्स उसको दोस्रो मोडल हुनेछ । एलईभी-०५ मा रहने ५५ किलोवाट आवरको ब्याट्रीप्याकले धेरैको ध्यान खिच्ने छ ।

त्यस्तै, राम्रो ब्राण्ड र मोडल भएर पनि नेपाली बजारमा पछाडि परिरहेको एवोनले ‘युटी ह्याचब्याक’ ल्याउने छ । कम्पनीको इन्ट्री मोडलको रूपमा आउन लागेको आयोनले अफर गर्ने यूटीको मूल्यले धेरैलाई आकर्षित गर्ने सम्भावना छ ।

नाडा अटो शोकै सबैभन्दा प्रिमियम लग्जरी प्रोडक्टको रूपमा एक्सपेङ एक्स-नाइन प्रदर्शन हुनेछ । यो एमपीभीले धेरैको ध्यान खिच्नेमा कुनै शंका छैन ।
प्रोटोन इमास-सेभेनको नाममा बिक्री भइरहेको जिलीको ग्यालेक्सी ई५ पनि जिली ब्राण्डमै नाडा अटो शो मार्फत सार्वजनिक हुनेछ । यो अटो शो मार्फत आउन लागेको नयाँ कार ब्राण्ड पनि हो ।

नयाँ आउने कारहरूको मूल्य २० लाखदेखि ढेड करोडसम्म पर्ने अनुमान लगाउन सकिन्छ ।

