सेरेस-थ्रीको सुरुवाति मूल्य ५० लाखभन्दा कम, फेसियामा ठूलो परिवर्तन

काठमाडौं । एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस-थ्रीको नयाँ मोडल बिक्री सुरु गरेको छ । कम्पनीले दुई भेरियन्टमा नयाँ सेरेस थ्री उपलब्ध गराएको हो ।

न्यू इनर्जी भेहिकल ब्राण्ड सेरेस थ्रीको नयाँ अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकिएको छ । यसअघि बिक्री हुँदै आएको मोडलको मूल्य पनि यहि थियो ।

नयाँ मोडल सार्वजनिक गर्दै एमएडब्लू ग्रुपका चेयरम्यान विष्णुकुमार अग्रवालले आधुनिक विद्युतीय गाडी उपभोक्तालाई दिने कम्पनीको योजनमा नयाँ सेरेस थप मजवुद रहने बताए ।

‘नेपाल आएको छोटो समयमा नै ३०० भन्दा धेरै यूनिट सेरेसका खुसी कष्टुमर छन् । हामीले बिक्री र बिक्रीपछिको सेवालाई विशेष जोड दिएर काम गर्दै आएका छौं । भोलिका दिनमा थप परिष्कृत सेवा र नयाँ नयाँ उत्पादन दिने हाम्रो प्रयत्न रहनेछ’, अध्यक्ष अग्रवालले भने ।

गत भदौ अन्तिममा भएको नाडा अटो शो २०२३ मा पहिलो पटक सार्वजनिक भएको सेरेस ईभीको पहिलो अपग्रेड भएर आएको हो । नयाँ सेरेस-थ्रीको अगाडिको फेसियामा ब्यापक परिमार्जन भएको देख्न सकिन्छ । साथै एलइडी डिआरएल र सेरेसकै ब्याच प्रयोग भएर आएको छ ।

नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस-थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस-थ्रीले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै प्रर्याप्त हेडरूम र लेगरूम दिएको छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

यसमा १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्र्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।


Back_to_top