काठमाडौं । सस्ता कारको बिक्रीमा वृद्धि हुन सक्ने विभिन्न कारणहरु बाहिर आउन थालेको छ । नेपालमा सबैभन्दा कम मूल्यको कार नै करिब २० लाख रुपैयाँबाट सुरु हुन्छ । यस्तोमा कम मूल्यमा नयाँ कार किनेर सुरक्षित यात्रा गर्न चाहने कति मानिस होलान् अहिल्यै कुनै आँकलन गर्न सकिदैन ।
नेपालमा निजी सवारीसाधनको प्रयोग बढेको धेरै भएको छैन । विशेषतः बैंक क्षेत्रको विकास, रियलस्टेटको वृद्धि र इन्स्योरेन्स तथा कर्पोरेट सेक्टरको विस्तारसँगै निजी कार राख्ने चलन सुरु भएको हो ।
नेपालमा अहिले करिब ४ लाख हाराहारीमा जीप, कार तथा भ्यानको बिक्री भएको तथ्यांक पाउन सकिन्छ । जसको वृद्धि पछिल्लो १० वर्षमा सर्वाधिक भएको हो ।
लकडाउन सकिएपछि नेपालमा विशेषगरी साना कारको बिक्री बढ्ने केही आधार तयार भएको मान्न थालिएको छ । ठूला एसयूभी र सेडान कार संचालन लागत महँगो पर्ने र सुरुमै किन्दा पनि अत्यन्त धेरै रकम खर्च गर्नु पर्ने भएकाले साना कारको बिक्री बढ्ने अनुमान गर्न सकिन्छ ।
मूल्यमा केही छुट हुन सक्ने
लामो समयको लकडाउनका कारण कम्पनीहरु निकै सिथिल बनेका छन् । कम्पनीहरुले बिक्रीका लागि राखेका धेरै गाडीहरु जसरी पनि बिक्री गर्नु पर्ने दबाब रहेको छ । लामो समयको बन्द, बैंकको ब्याजदर र २०१९ मा बनेको कार २०२० को ६ महिनासम्म पनि स्टकमा रहनु कम्पनीहरुका लागि दबाब हो ।
त्यसैले लकडाउन सकिएपछि कम्पनीहरुले विशेष स्किम ल्याएर गाडकिो बिक्री गर्ने सम्भावना रहेको छ । तर, अहिले लकडाउन कायमै रहेकाले कुनैपनि कम्पनीले आफ्नो तयारी बाहिर ल्याएका छैनन् ।
अहिले बजारमा धेरै गाडी स्टकमा रहेका मारुती सुजुकी, हुन्डाई, महिन्द्रा र टाटा जस्ता कम्पनीले विशेष अफर गर्ने अनुमान गर्न सकिन्छ ।
मासिक किस्ता र बैंक ब्याजदर
नेपालमा तत्काल नयाँ उद्योगमा लगानी हुने वातावरण नभएकाले बैंकहरुले अटोकर्जा बढाउन सक्ने छन् भने अहिले बैंकको व्याजदर पनि तुलनात्मक रुपमा कममा पाइन सक्ने अवस्था रहेको छ ।
हरेक कम्पनीले बिक्री गर्दै आएका २५ लाखभन्दा कम मूल्यका गाडी किन्दा करिब १७ हजारदेखि २१ हजार हाराहारी मासिक किस्ता तिर्दा पुग्ने छ । यसले मासिक ५० हजारभन्दा बढी मासिक कमाई हुने मानिसले यस्ता कार किन्न सक्ने छन् । तर, डाउन पेमेन्टभने ५० प्रतिशत राख्नु पर्ने बाध्यकारी व्यवस्था रहेको छ ।
नियमित ट्याक्सीको प्रयोग गर्नेले निजी कार किन्न सक्ने
आफ्नो निजी सवारीसाधन राख्न नरुचाउने तर ट्याक्सीको अधिकतम प्रयोग गर्न सक्ने मानिस पनि कारको संभावित ग्राहक हुन् । ट्याक्सीको प्रयोग गर्ने ५ देखि १० प्रतिशत मानिस निजी कार राख्न सक्ने किसिमको रहेको केही सर्र्भेले देखाएको छ । यसले आगामी दिनमा निजी कारको बिक्री बढ्ने देखिएको छ ।
कम खर्चमा चलाउन र मर्मत सम्भार गर्न सकिने
साना कारहरु कम खर्चमा मर्मत सम्भार गर्न सकिने छ । यस्ता कारहरुको पार्टस र सर्भिसिङमा ‘मिड पफमेन्स’ मोटरसाइकलको जस्तै खर्च आउने गर्छ । त्यसैले यस्ता साना कारको बिक्री बढ्न सक्ने छ ।
कार किनेपछि यसको संचालनमा लाग्ने खर्च अर्को महत्वपूर्ण विषय हो यस्ता साना कारले अत्यन्त कम इन्धन खर्च गर्ने भएकाले यस्ता कार लकडाउन सकिएपछि बजारमा बिक्री हुन सक्ने छन् ।

