काठमाडौं । आकस्मिक घट्ने सडक दुर्घटना कारण वर्षेनी हजारौ मानिसको निधन भैरहेको हुन्छ । सडकको कमजोर अवस्था, चालकको कमजोरी, पुराना सवारी साधन लगायतका विविध कारणलार्ई दर्घटनाको प्रमुख दोषीको रुपमा लिइन्छ । यसका अलवा सवारी दुर्घटना हुनुका मुख्य कारण यस्ता छन् ।
सडकको अवस्था
नेपालमा कालो पत्रे, कच्ची तथा खन्डस्मिथ सडकको कुल लम्बाई ७० हजार ६ सय किलोमिटर छ । सो सडक मध्ये मात्रै २५ हजार किमी सडक सवारी साधन संचालन योग्य रहेको छ ।
देशभरको ११ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ । नेपालमा सडकको ट्रयाक खोल्ने बित्तिकै सवारी चलाउने गरिन्छ । प्राविधिक रुपमा अनफिट सडकमासवारी दुर्घटनाको उच्च जोखिम हुने गर्छ ।
रोड सेफ्टी आडिट र ब्ल्याक स्पट न्युन
सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्ने विधि नै सडक सुुरक्षा परिक्षण हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने संभावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ ।
तर, नेपालमा कुल सडकमध्ये मुस्किलले २ प्रतिशत मात्रै अडिट गरिएको छ । यसका साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ ।
सवारी साधनको अवस्था
२०५६ सालमा सरकारले उत्पादन मितिले २० वर्षभन्दा पुराना सवारीसाधन दर्ताको हेरफेर तथा नामसारी गर्न नपाउने व्यवस्था गरेको थियो । साथै, यस्ता सवारी साधन अनिर्वाय पत्रु गर्नुपर्ने हुन्छ ।
तर, यातयात व्यवसायीले तोकिएको अवधि नाघेका सवारी साधनभने पत्रु गर्ने कार्य गरेको छैन । साथै विभागको अनुगमनको कार्यलाई कडाईका साथ अगाडि बढाउन सकेको छैनन् । यस कारण पुराना सवारी साधनको ब्रेक तथा अन्य मेसिन बिग्रिदा वा काम नगर्दा पनि दुर्घटना हुने गरेको छ ।
सवारी चालकको कारण
नेपालमा अझै व्यवसायिक र गैरव्यवसायिक भनेर चालकलाई वर्गिकण गरिएको छैन । यस्तो निश्चित मापदन्ड नहुँदा व्यवसायिक रुपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुन गरेका छन । किनकी, उसमा अनुभवको कमी हुने ट्राफिक इन्जिनियरहरु बताउँछन् ।
यसका साथै ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रुबाहक सवारी कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेको छ ।
यात्रुको ढिपी
यात्रुको ढिपीका कारणले पनि सवारी दुर्घटना हुने गरेको छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउनेलगायतका व्यवहारले पनि दुर्घटनालाई निम्त्याएको अनुसन्धानले देखाएको छ ।
सवारी साधनको समयमानै मर्मत
सवारी साधनको समयमा नै मर्मत गरिएको छैन वा यात्रा थालनीपूर्व साधनलाई प्राविधिक रुपमा तयारी अवस्थामा नराखेकाले पनि दुर्घटना हुने गरेको पाईन्छ ।
क्षमताबन्दा बढि यात्रु
देशका विभिन्न ठाउँमा भएका सडक दुर्घटनालाई केलाउने हो भने क्षमताभन्दा बढि यात्रु पनि एउटा प्रमुख कारण बनेको छ । प्राविधिक रुपमा सक्षम नरहेको सडकमा क्षमताभन्दा बढि यात्रु बोक्दा, सवारी साधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको छ ।
तिव्र गति
सडक विभागले गरेको अध्ययन अनुसार सवारी सधानको तिव्र गतिलाई दुर्घटनाको मुख्य कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित मापदन्ड निर्धारण गरिएको हुन्छ । जबकि चालकले सो मापदन्ड तोडेर सवारी साधन चलाउँदा पनि दुर्घटना हुने गरेको छ ।
अन्य कारण
वर्कसपको मापदन्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन नियम समय सापेक्षित छ्रैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ड्राइभिङ ह्याबिट परिवर्तन नभएको देखाएको छ । यसले गर्दा पनि दुर्घटना बढाएको छ ।
साथै, सडकको मर्मत समयमा हुने गरेको छैन् । उल्लेखित कारणहरु भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, एशियाली विकास बैंक लगायतका संस्थाले गरेको अध्ययन तथा सम्बन्धित क्षेत्रको व्यक्तिसगको कुराकानीमा तयार पारिएको हो । नाडाको न्युज बुलेटिनबाट

