काठमाडौं । निसानको पछिल्लो सब फोर मिटर एसयूभी म्याग्नाइट विभिन्न ११ भेरियन्टमा नेपाल आउने भएको छ । कम्पनीले सम्भव भएसम्म फागुन २ गते यसलाई बजारमा ल्याउनेगरि काम गरिरहेको जनाएको छ ।
निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यदि फागुन २ गते नभ्याएको खण्डको फागुन ७ गतेसम्ममा यसलाई बजारमा उतार्नेछ । कम्पनीले म्याग्नाइटको विभिन्न ११ भेरियन्ट नेपाल ल्याउने भएको छ । म्याग्नाइटको १.० नेचुरल एस्पायर्ड इन्जिनमा ६ भेरियन्ट र टर्बो इन्जिनमा ५ भेरियन्ट नेपाल ल्याउन लागेको हो ।
कम्पनीले नेचुरल एस्पायर्डमा एक्सई, एक्सएल, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलरमा ल्याउने भएको छ । १.० टर्बो इन्जिनमा एक्सएल मिड, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलर भेरियन्ट ल्याउने छ ।

कम्पनीले यसको सुरुवाती भेरियन्ट एक्सईको मूल्य २९ लाख ४४ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरियन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्यूलको मूल्य ४२ लाख ७४ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले सुरुवाती केहि दिनमा नै गाडी किन्ने ग्राहकलाई सबै भेरियन्टमा ७५ हजार रुपैयाँ नगद छुट दिन लागेको जनाएको छ । छुटसहित ग्राहकले सुरुवाती भेरियन्ट २८ लाख ६९ हजारमा खरिद गर्न सक्ने छन् ।
सब फोर मिटर सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आउन लागेको म्याग्नाइटले टाटा नेक्सन, मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट, होन्डा डब्ल्यूआरभी जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । कम्पनीले ल्याएको मूल्यलाई आधारमान्दा निसान म्याग्नाइट निकै सस्तो रहेको छ । सेग्मेन्टमा नै पहिलो केहि फिचरको साथ आएको म्याग्नाइट बजारमा खरो उत्रन सक्ने अनुमान लगाउन सकिन्छ ।

निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचर पाउन सकिन्छ ।
कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ । सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने छ ।
यसमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सानो इन्जिनको कारण यसको मूल्य सेग्मेन्टमा नै अहिलेसम्मकै सबैभन्दा कम रहेको हो ।


