काठमाडौं । हिरोको पछिल्लो उत्पादन एक्स्ट्रीम १६० आर फेब्रुअरी महिनामा नै नेपाल आउन सक्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।
नेपालको लागि हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम) का अनुसार फेब्रुअरी अन्तिम साता वा मार्च पहिलो सातासम्ममा एक्स्ट्रीम १६० आर नेपालमा विक्री सुरु हुनेछ ।
हिरोले १६० सीसी सेग्मेन्टमा नेपाल ल्याउन लागेको १६० आर हिरोले अहिलेसम्म बनाएको मोटरसाइकलमा सबैभन्दा छिटो तिब्र गति पकड्न सक्ने मोटरसाइकलको रुपमा भारतमा सफलता पाइसकेको मोटरसाइकल हो ।
‘हामील् फेब्रुअरी अन्तिम वा मार्चको पहिलो सातासम्ममा नेपाल ल्याउने प्रयास गरिरहेका छौं । तर, सप्लाईमा अझैपनि केहि समस्या रहेकाले मिति एकिन गर्न सकिएको छैन’, एनजीएम हिरोका चेयरम्यान अभिक ज्योतिले मेरोअटोसँग भने ।

मूल्यको विषयमा अहिल्यै कुनै तयारी नभएको ज्योतिले जानकारी दिए । हिरो मोटरसाइकलले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।
कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।
हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
हिरोले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

