ग्राभिटी नामबाट आउने भयो निसानको नयाँ मोडल

काठमाडौं । निसानले भारतमा उत्पादन गर्न लागेको नयाँ मल्टी पर्पस भेहिकल (एमपीभी)को नाम ग्राभिटी रहने पक्का भएको छ । आगामी महिना सार्वजनिक हुने नयाँ मोडलको नाम कम्पनीले बाहिर ल्याएको हो ।

रेनो ट्राइबरमा आधारित रहेर तयार भइरहेको निसान ग्राभिटी ‘सीएमएफ ए प्लस प्लेटफर्म’मा बनेको हो । ठ्याक्कै सब फोर मिटर एसयूभी कै डिजाइनमा आउने ट्राइबर ७ सिट क्षमताको हुनेछ ।

निसान इन्डियाले आज एक टिजर सार्वजनिक गर्दै निकै आकर्षक फ्रन्ट लुक्स र मोर्डन रियर देखिने तस्बिर बाहिर ल्याएको हो । निसानले रेनो ट्राइबरमा आधारित एमपीभी बनाएको भएपनि फ्रन्ट र रियरमा विल्कुलै नयाँ चीज देख्न पाइन्छ ।

निकै स्टाइलिस अलोय ह्वील, मोर्डन बम्पर, बिल्कुलै नयाँ फ्रन्ट ग्रिल प्रयोग भएको देखिएको छ । हेडल्याम्प भने ट्राइबरको जस्तै देखिन्छ । अन्य लाइटमा भने निसानले फरकपन दिएको छ ।

ग्राभिटी मोडलको पछाडिको भाग विल्कुलै नयाँ टेल लाइट दिइएको छ । दुई लाइटको बीचमा निसानको लोगो र त्योभन्दा तल्लो भागमा ग्राभिटीको ब्याचिङ देख्न पाइन्छ ।

निसानले ग्राभिटीको ड्यासबोर्डमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र चालकको लागि सुचना प्रदान गर्न ७ इन्चको सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । कारमा वायरलेस चार्जर, पुस बटम स्टार्ट/स्टप बटम, पार्किङ सेन्सर, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर सिस्टम, रियर भ्यू क्यामेरा, ६ एयरब्याग रहने छ ।

ग्राभिटी एमपीभीमा १.० लिटर पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले ७६ हर्सपावर र ९५ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स रहनेछ ।


Back_to_top