यस्तो छ निसानले २० लाख छुट घोषणा गरेको एसयूभी

काठमाडौं । दशैं स्कीम सार्वजनिक गर्ने क्रममा निसानले २० लाख नगद छुट दिने घोषणा गर्यो । कम्पनीले घोषणा गरेको स्कीममा २० लाख छुट निसान एक्स ट्रायलको लागि थियो ।

कम्पनीले २० लाखसम्म छुट घोषणा गरेपछि यो विषय अटोमोवाइल व्यवसाय र आमग्राहकको बीचमा निकै चर्चामा आयो । कम्पनीले यसरी किन एउटै गाडीमा २० लाख छुटको घोषणा गर्यो यो सबैको चासोको विषय थियो ।

निसानको आधिकारीक वितरक पायोनियर मोटो कर्पले आफुसँग भएको २०१८ मा बनेको एक्स ट्रायल २ वर्षदेखि स्टकमा रहेकाले उक्त गाडीको स्टक क्लेयरेन्स गर्न उक्त अफर ल्याएको जनाएको छ ।

‘निसान एक्स ट्रायलमा केही यूनिट पुरानो मोडल थियो । त्यसलाई सहज होस् भनेर हामीले २० लाख छुट दिएका हौं’, कम्पनीका डिजीएम ज्ञानेन्द्र चन्दले मेरोअटोसँग भने ।

उनका अनुसार २०१८ मोडलको निसान एक्स ट्रायल अब तीन यूनिट मात्रै बाँकी रहेको छ । कम्पनीले यसको मूल्य ५ सीट क्षमताको १ करोड ३९ लाख ९९ हजार र ७ सिटरको १ करोड ४४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

कम्पनीसँग सन् २०२० मोडलको एक्स ट्रायल पनि उपलब्ध रहेको छ । सन् २०२० मोडलमा भने ग्राहकले ९ लाख ४१ हजार रुपैयाँ छुट पाउने छन् । यसका अलावा कम्पनीले एक वर्षको बीमा, एक आर्थिक वर्षको सवारी कर दिने जनाएको छ ।

‘यदि ग्राहकले नगद छुट नभएर ६ महिनापछि डाउन पेमेन्ट तिर्छु भनेको खण्डमा हामीले त्यो सुविधापनि दिएका छौं । यसरी गाडी किन्ने ग्राहकले बैंक ग्यारेन्टी भने दिनु पर्ने हुन्छ । यसरी गाडी किन्दा ४ महिनाको इएमआई पनि हामीले नै तिरिदिन्छौं’, चन्दले भने ।

तर, ग्राहकले ६ महिनापछि डाउन पेमेन्ट बुझाउने सर्तमा गाडी किन्ने हो भने नगद छुट भने पाउने छैनन् । सवारी कर र बीमा भने पाउने छन् ।

निसान एक्स ट्रायल विशेषत नेपालमा टोयोटा र्‍याभ फोरको प्रतिस्पर्धी मोडल हो । यसको लम्बाई ४६४० एमएम रहेको छ भने चौडाई १८२० एमएम र उचाई १७१० एमएम रहेको छ । यसमा २७०५ एमएमको ह्वीलवेस दिइएको छ ।

यसमा १९९७ सीसी क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १४२ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top